प्रहार समाचार । काठमाडौँ २८ भदौ २०८१ शुक्रवार । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ। आज लुम्बिनी र सुदूरपश्चिमका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । दुई प्रदेशसहित कर्णालीका केही जिल्लामा समेत भारी वर्षा भएको हो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाका अनुसार गएराति दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सल्यान, सुर्खेत, डोटी, डडेलधुरा, दैलेख, अछाम, बैतडी, बाजुरा, बझाङ, दार्चुला, र आसपासका जिल्लामा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उता अहिले लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसै बिच आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यसका साथै आज नै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसै गरि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।


















