प्रहार समाचार । तनहुँ ९ भदौ २०८१ आइतवार । तनहुँको देवघाट गाउँपालिकामा रहेको परमानन्द संस्कृत गुरुकुल देवघाटधाममा आज भजन प्रतियोगिता सम्पन्न भएको छ । ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा १० समूहको सहभागीता रहेको विद्यालयका सहायक प्रधानाध्यापक कृष्णदेव पाण्डेयले बताए ।

गुरुकुलले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका निम्ति पाक्षिक रूपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको विद्यालयले जनाएको छ। जीवनमा भौतिक, शैक्षिक, सामाजिक जस्तै आध्यात्मिक चिन्तनको पनि छुट्टै र विशिष्ट महत्त्व रहने भएकाले प्रतियोगिता आयोजना गरिएको थियो । विद्यार्थिहरुले वैदिक सनातन हिन्दू धर्मको महत्तालाई भजनले आफ्ना विषय बनाएका थिए । भगवानको चरित्र, कार्य र लीलालाई गुणानुवाद, भावनानुवाद गरिएका चुड्का भजनहरु प्रस्तुत गरिएका थिए ।

भजनको बीचबीचमा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा निराजन ढकालको समूह, सुलभ घिमिरेको समूह, विष्णु काफ्लेको समूह, रन्जन बेलबासेको समूह र अन्वेस कण्डेलको समूह उत्कृष्ट घोषित भएका थिए ।
परमानन्द संस्कृत गुरुकुल विद्यापीठका प्राचार्य स्वामी सचिदानन्द सरस्वतीजी महाराले सभापतिको आसनबाट बोल्दै सुरदास र मीराको उदाहरण दिँदै भजन भावप्रधान, नैतिक सन्देश प्रदान गर्ने र मनलाई आनन्दित तुल्याउने प्रकृतिका हुनुपर्नेमा जोड दिए । कार्यक्रममा विपिन ढकालले सहजीकरण गरेका थिए भने हरि कँडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।





















