• विजय अधिकारी । ( लमजुङ संवाददाता ) । ३० साउन २०८१ बुधवार । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर ११ , चिती डाडा बगैंचामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।

घरमा कोही नभएको र एक्लै बस्दै आएकी ६५ वर्षकी सान्नानी घर्तीको हत्या भएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेस्वर चापाईंले बताए । आज बिहान काठमाडौ जाने भनेर स्थानीय जिप चालकलाई उदिपुर सम्म छोडिदिन हिजो फोन गरेर भनेकी उनले जिप चालक आज बिहान उनलाई लिन जाँदा उनको शव आगनमा लडिरहेको अवस्थामा देखेपछि चिती प्रहरीलाई खवर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार – महिलाको टाउको देखि मुख सम्म धारिलो हतियार प्रहारगरि हत्या गरिएको देखिएको छ भने घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिम प्राप्त कुकुर सहितको टोलि लमजुङ बोलाइएको प्रहरी निरीक्षक चपाईंले बताए ।
हत्या भएकी घर्तीको छोरा विदेश, बुहारी र छोरी काठमाडौ बस्दै आएको जानकारीमा आएको छ । घटनाको अन्य विवरण भने आउन बाकी रहेको प्रहरीले जनाएको छ । घटनास्थ्यल लाई प्रहरीले अनुसन्धानका लागि सुरक्षित राखेको छ।


























