प्रहार समाचार । बंगलादेश । २१ साउन २०८१ सोमवार । बंगलादेशमा कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन सरकारविरुद्ध सोझिएपछि प्रधानमन्त्री शेख हसिना बहिनी शेख रेहानालाई लिएर देश छाडेर भागेको बीबीसी बंगला र ढाका ट्रिब्युनले जनाएको छ। उनि आज दिउँसो करिब साढे २ बजे देश छाडेर सैनिक हेलिकप्टर भारत छिरेको सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।

कर्फ्यूका बीच सोमबार लाखौंको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए । सञ्चारमाध्यम एएफपीले पनि स्रोतको हवाला दिँदै शेख हसिना र शेख रेहाना सुरक्षित स्थानमा पुगेको जानकारी दिएको छ ।
प्रधानमन्त्री हसिनाले भारत प्रस्थानअघि भाषण रेकर्ड गर्ने मनसाय राखेकी थिइन्, तर त्यसो गर्ने मौका दिइएन ।
अब के हुन्छ ?
बंगलादेशका सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।
अन्तरिम सरकार बनाउन राष्ट्रपतिका साथै विपक्षी दल नागरिक समाजसँग सम्वाद गरेको बताए । साँझसम्म एउटा निकासमा पुग्ने आश रहेको भन्दै उनले भने, ‘अवस्थामा सुधार आयो भने कफ्र्यू आवश्यक हुन्न ।’
उनले सबै जिम्मेवारी आफूले लिने भन्दै प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरे । अब सुरक्षाकर्मीहरुलाई गोली नचलाउन निर्देशन दिइसकेको भन्दै सेना प्रमुखले भने, ‘देशलाई धेरै क्षति भयो । अर्थ व्यवस्था प्रभावित भयो कयौं मानिस मानिए । मलाई आश छ, यो सम्बोधनपछि अवस्थामा सुधार आउनेछ ।’
























