हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’ को लोकार्पण

प्रहार समाचार । तनहुँ २० साउन २०८१ आइतवार । आदिवासी, जनजाति , सीमान्तकृत दरै जातिहरूको विषयवस्तुहरूलाई समेटेर लेखिएको  ‘फेरिल’  नामक उपन्यास आज दमौलीमा लोकार्पण गरिएको छ ।

उपन्यासकार माधव बिडारीद्वारा लिखित  ‘फेरिल’ उपन्यासको व्यास नगरपालिकाका उपप्रमुख ईन्दिरा दरैले लोकार्पण गर्दै सीमान्तकृत आदिवासी जनजाति दराई समुदायको कथावस्तुमा आधारित रहेर लेखिएको यस उपन्यासले दरै समुदायको रीतिरिवाज , कला  ,संस्कार , संस्कृतिमा थोरै भएपनि संरक्षण पुग्ने बताइन्। यसका साथै दरै समुदाय कुन रूपबाट परिवर्तन हुँदै गइरहेको छ भन्ने सोच्नुपर्ने पनि बताइन्।


नेपाल दरै उत्थान समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिजबहादुर दरैले राज्यबाट पछाडि पारिएका दरै समुदायहरूको हक हितका लागि तथा संस्कार संस्कृति र रीतिरिवाज संरक्षणमा यस्ता पुस्तक कोसेढुङ्गा सावित हुने बताए।

कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पस दमौलीका प्रमुख महाप्रसाद हड्खले, नेपाल दराई उत्थान समाजका केन्द्रीय कोषाध्यक्ष दिलबहादुर दरै , दरै उत्थान मञ्च तनहुँका उपाध्यक्ष सुखबहादुर दरै , जनजाति महासङ्घ जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष नन्दु थापा ,जमुना दरै, रामशरण दरै लगायतले शुभकामना दिंदै हरेक जातजातिले आआफ्नो संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड  दिँदै समाजमा पुस्तक पढ्ने संस्कारको विकास हुनुपर्ने बताए।

गण्डकीवाङमय  प्रतिष्ठान तनहुँकी अध्यक्ष गौकुमारी न्यौपानेले पुस्तकमाथि समीक्षा गर्दै फेरिल आख्यान विधाको उत्कृष्ट  पुस्तक भएकाले पुस्तकमा देरै समुदायको कथा समेटिएकोले एकपटक सबैले  पढ्नै पर्ने बताईन् ।

पुस्तकका लेखक माधव बिडारीले ‘ फेरिल ‘ पूर्णतः काल्पनिक उपन्यास रहेको बताउँदै दरै समुदायका केही तथ्यगत कुराहरू पनि उपन्यासमा रहेको तथा उपन्यासले कोट्याउन खोजेको विषय मात्रै हो भन्दै यो उपन्यास दरै समुदायको इतिहास , संस्कृति , संस्कार र जीवनशैलीसम्म पुग्ने कच्ची बाटो मात्रै भएको बताए । उनले अगाडि भने  – ‘ फेरिल ‘ मेरो मात्र होइन तपाईं हाम्रो साझा उपन्यास बनेको छ । उपन्यासबाट आउने सम्पूर्ण सकारात्मक कुराहरु हाम्रा साझा सम्पत्ति हुन्। ‘

पूर्वकथा र अपूर्वकथा गरि दुई भागमा विभाजित उपन्यास १ सय २३ पृष्ठको रहेको छ। उपन्यासको प्रकाशन स्रष्टालय बुक्स एण्ड पबिलकेशन  टोखा  १ , झोरमहाङ्काल काठमाडौँ रहेको छ।
दरै समाज तनहुँका अध्यक्ष ठाकुर बहादुर दरैको सभापतित्वमा सम्पन्न भएको  कार्यक्रमको सहजिकरण सचिव विजय दरैले गरेका थिए ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button