• विजय अधिकारी । ( लमजुङ संवाददाता ) l १६ साउन २०८१ बुधवार । लमजुङको मर्श्याङदी गाउँपालिका भुलभुले , लमजुङको आयोजनामा भएको ” मर्श्याङ्दी करिडोरका स्थानीय तहहरुको समन्वय बैठक ” करिडोरका संयोजक एवं भानु नगरपालिका तनहुँका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा मर्श्याङदी गाउँपालिका वडा नम्बर – ५ , खानिगाउँमा मंगलबार सप्पन्न भएको छ ।

बैठकमा समन्वय समितिका अध्यक्ष त्रिपाठीले स्थानीयतहहरुको दिगो विकासका लागि आर्थिक , सास्कृतिक , सामाजिक , शैक्षिक तथा भौगोलिक विकासका दृस्टीकोणले विद्यमान सम्भावना र चुनौतीको पालिकाहरुले सामुहिक अभ्यास गरि नतिजा हासिल गर्ने उदेश्यका साथ समन्वय समिति गठन गरि काम गर्दै आएको बताए ।

उनका अनुसार – समिति बाट बनेका साझा चुनौती र सम्भावनाको वस्तुगत विश्लेषण गरि सामुहिक उदेश्य प्राप्त गर्न लागि परेको भन्दै समय समयमा अन्तरपालिका समन्वयात्मक छलफल गर्न बैठकको आयोजना गरिदै आएको जानकारी दिए ।
बैठकले सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाको संयोजकत्वमा , मर्श्याङदी गाउँ पालिका अध्यक्ष अर्जुन गुरुङ , सुन्दर बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र भानु नगरपालिका शिक्षा शाखा प्रमुख सदस्य रहेको शिक्षा समितिले वर्तमान शिक्षाको अवस्था ,चुनौती , समस्या , भावी कार्यदीशा लगायतको विषयलाई समेटेर तयार पारेको कार्यपत्र माथि व्यापक छलफल गरि सुझाव सहित पारित गरेको छ ।

त्यसैगरी बैठकले जतिसक्दो छिटो विज्ञ सहितको बृहत शैक्षिक गोष्ठी सुन्दरबजार नगरपालिकामा सञ्चालन गर्ने र आगामी अन्तर पालिका बैठक भने मनाङ्को चामे गाउँ पालिकामा कार्तिक महिनामा गर्ने समेत निर्णय गरेको छ ।
त्यस्तै बैठकले करिडोर भित्रका साझा विकासको अवधारणाको विषयमा अवगत गराउन नेपाल सरकारका प्रधानमन्त्री , गण्डकी प्रदेशका मुख्यमन्त्री र केही महत्त्वपूर्ण मन्त्रालयका मन्त्रीहरु सङ्ग भेट गरेर छलफल गर्ने कार्यक्रम समेतको तयारी गरेको छ ।
बैठकमा मर्श्याङ्दी करिडोर भित्र पर्ने १४ पालिका भानु , बेसीशहर , सुन्दरबजार , राइनास , पालुङ्टार , गोरखा नगरपालिका र मर्श्याङदी , दोर्दी , बन्दिपुर , आबुखैरेनी , मनाङ ङिस्याङ , चामे , सहिद लखन , नासो गाउँ पालिकाका प्रमुख , उप- प्रमुख , अध्यक्ष , उपाध्यक्ष कर्मचारीहरुको उपस्थित रहेको थियो ।
करिडोर भित्रको सहकार्यलाई मजबुत बनाउदै लैजाने विषयमा १४ वटै पालिकका प्रमुखहरू सकारात्मक देखिएका छन् ।

























