• रबिन्द्र कंडेल । गोरखा १० साउन २०८१ बिहिबार । गोरखाको पालुङ्टार नगरपालिका आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको संङ्ख्या १२ पुगेको छ । ११ जनाले झुन्डिएर र एकजनाले हाम फालेर आत्महत्या गरेका छन् यसरी आत्महत्या गर्नेहरूमा महिला ७ जना र पुरुष ५ जना रहेका छन् ।

आत्महत्या गर्नेको यो सङ्ख्या गत आर्थिक वर्ष ७९ /८० को तुलनामा ७ जनाले कम र आर्थिक वर्ष ७८/७९ को तुलनामा तीन जनाले बढी रहेको छ।गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९ ८० मा भने आत्महत्या गर्नेको संख्या झुन्डिएर आत्महत्या गर्ने १८ र हाम फालेर आत्महत्या गर्नेको संख्या एक गरी १९ जना रहेको थियो। जुन सङ्ख्या आर्थिक वर्ष ७८/७९ को भन्दा १० जनाले बढी रहेको देखिन्छ भने आर्थिक वर्ष २०७८/७९ मा भने आत्महत्या गर्नेको सङ्ख्या छ महिला र तीन पुरुष गरी जम्मा नौ जना रहेको थियो।
यसरी तथ्याङ्कलाई हेर्दा आत्महत्या गर्नेको सङ्ख्या खासै घट्न नसकेको र आत्महत्या सम्बन्धी विविध जानकारी तथा सन्देशमूलक कार्यक्रमहरू र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने देखिएको इलाका प्रहरी कार्यालय ठाटीपोखरीका प्रमुख प्रहरी निरीक्षक राजेश थापाले बताए ।
























