हेडलाईनसमाचारगण्डकी

पोखरामा सहकारी पिडितको प्रदर्शन र नारा :  ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ’

पोखरा, जेठ १३ । कास्कीको लेखनाथका आनन्द अधिकारीले पोखरामा भेटेरिनरी व्यवसाय सञ्चालन गरेदेखि नै सूर्यदर्शन सहकारीमा बचत गर्न थालेका थिए ।

२०७२ सालमा व्यवसाय शुरू भएदेखि उनले सहकारीमा बचत गरेर ८० लाख पुर्‍याएका थिए । आफूले बचत गरेको रकम अपचलन गरेर सहकारी सञ्चालक भागेपछि आनन्दसँग केही छैन । 

‘ व्यवसायको सबै पैसा त्यहाँ गयो, अन्त कतै छैन,’ आइतबार पोखरामा सहकारीपीडितको प्रदर्शनमा भेटिएका उनले गुनासो पोखे । 
अर्की सहकारी पीडित हुन्, विमला नेपाली । टुँडिखेल पोखरामा सानो जुत्ता पसल चलाएर जीविकोपार्जन गरेकी विमलाको मासिक आम्दानी १५ देखि २० हजार हुन्थ्यो ।

श्रीमानसँगै पसल चलाएकी उनले छोराछोरीको पढाई खर्च धानेर दुईचार रुपैयाँ जम्मा गरेकी थिइन् । दुःख गरेर कमाएको साढे ३ लाख रुपैयाँ डुब्दा उनी मर्कामा छिन् । 

‘दुःख गरेर कमाएको पैसा त्यहाँ राखेको हो । थोरैथोरै गर्दैै कमाएर जम्मा गरेको हो । फिर्ता पाइएन भने के गर्ने, छोराछोरीलाई अस्पताल लैजाने, दबाई पानी गर्ने पैसा पनि छैन,’ उनले भनिन् । 
आइतबार पोखरामा सातवटा सहकारी संस्थाका बचतकर्ताले न्यायको माग गर्दै पोखरा पृथ्वीचोकमा प्रदर्शन गरेका हुन् ।

सूर्यदर्शन, इमेज, मित्रमिलन, प्राइम, बलिदानी, शिवशिखर, विन्ध्यवासिनी गरी सात सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूको विरोध कार्यक्रमलाई सात राजनीतिक दलले समर्थन गरेको थिए । 

घरजग्गा बेचेर मित्रमिलन सहकारीमा ७५ लाख जम्मा गरेका सूर्यप्रसाद पोखरेलले सरकारले समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाउनुपर्ने माग गरे ।

प्रतिवादीहरू भागेका छन् । छोपेर ल्याउनुपर्‍यो अदालतले पनि छुटाएको छ । सरकारले न्यायिक छानबिन समिति बनाएर बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण बनाइदेओस्,’ उनले भने । 

पीडित बचतकर्ताहरूले ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ’, भन्ने नारा लगाएका थिए । 

‘राजनीतिक चलखेल नगरिकन सहकारीको बचत रकम फिर्ता ल्याउनतर्फ ध्यान जाओस् । सिरोरियामाथि छानबिन हुन्छ भने गृहमन्त्रीज्यूको विषयमा छानबिन समिति किन बन्दैन,’ सहकारी बचत पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले बताए । -लोकान्तर अनलाईन बाट


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button