हेडलाईनव्याससमाचारगण्डकी

‘विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै हो ‘ राष्ट्रपति पौडेल

प्रहार समाचार ।तनहुँ, बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुर खड्गकाली मन्दिरको उद्घाटन पछि  आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य छ,”  राष्ट्रपति पौडेलले भने ।

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले  तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु प्रमुख दायित्व भएको धारणा व्यक्त गर्दै भने “अहिले तनहुँसुरलाई  यता चुँदीतिरबाट र उता दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भैरहेको छ, दक्षिणतिर भगवती रंगपथसमेत गरी तीनै तिरबाट पक्की बाटो तनहुँसुर ताकेर बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्, डाँडका दिन फर्कदै छन्” ।

नेपालको इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व राखेको तनहुँसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमासमेत  गौरवपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले मुलुकका राजनीतिक परिवर्तनका लागि सात सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाँउबाट गरिएको स्मरण गरे । त्यतिखेर बन्दिपुरमा भएको संघर्षमा राणा फौजको गोली लागि ६ जना सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तवहादुर राना मगर, चन्द्रवहादुर सार्की (नेपाली) र खड्ग वहादुर गोदारले सहादत प्राप्त गरेका थिए । वि.सं २०१८ सालमा पनि धेरै शहिद भए जसमध्ये वुद्धसिंह राना मगर यसै क्षेत्रका थिए । “म ती शहीदहरूप्रति यस अवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशको लागि प्राणाहुति दिने ती शहिदहरू र शहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ” राष्ट्रपति पौडेलले बताए ।

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको  केन्द मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको वौद्विक केन्द्र समेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी (भारत) सम्म फैलिएको इतिहासमा उल्लेख छ । त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो । 

यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको वृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको १०८ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भैरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहँसुरमा शहीद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यहरूको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको राष्ट्रपतिले बताए । “पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक, र सांस्कृतिक क्षेत्रहरूसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकहरूलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपतिले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री हरिबहादुर चुमान, सांसद अशोककुमार श्रेष्ठ, पुरातत्व विभागका अधिकृत मन्जुसिंह भण्डारी, रामचन्द्र पोख्रेल, गोविन्द भटराई लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेको उत्त कचिक्रममा सप्ताहव्यापी विश्व सम्पदा दिवसका संयोजक एवं व्यास नगरका प्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button