प्रहार समाचार ।काठमाडौँ , फागुन १३ आइतवार । राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन्।
वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्याएवापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले जनाएको छ ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्धारा आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित १०३ औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरेका हुन्।
यस्तै, महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई सो अवसरमा राष्ट्रपति पौडेलले प्रदान गरे।

सो कार्यक्रमा बोल्दै राष्ट्रपति पौडेलले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिए ।
“परिवर्तनको अनुभूति वास्तविकरुपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन सक्दैन” राष्ट्रपति पौडेलले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा कतै हाम्रा आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन भन्दै कतै हाम्रा कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन भन्ने प्रश्न गर्दै “मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतः त्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ र लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक छ”, राष्ट्रपतिको आग्रह थियो ।
























