बाँकी अंश :
घ, १०८ फिट अग्लो मूर्ति
सान्यामा समुन्द्रको बीच भागमा १०८ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । चीनको सान्या शहरको पर्यटनको एक आकर्षक विन्दु १०८ फिट अग्लो बुद्धमूर्ति पनि हो । जस्का कारण अहिले सान्या पर्यटनको नगरी बन्न पुगेको छ ।
तनहुँको दमौलीमा जन्मिएका सनातन हिन्दु धर्मका प्रणेता तथा ४, वेद, १८पुराण र १८ उपपुराणहरु, स्मृती ग्रन्थ, श्रीमदभागवत गीताका संग्रहकर्ता तथा महाभारत कथाका रचनाकार महर्षि वेदव्यास (श्रीकृष्ण द्वैपायन), ऋषि पराशर , माता सत्यवती , राजा सुधन्वा र माझी दाशराजको मूर्ति निर्माण गर्न व्यासक्षेत्र विकास कोष गठन गरिसकिएको अवस्था हो । दमौलीमा निर्माण गर्न लागिएको महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्य प्रारम्भ भएता पनि गती लिन सक्दा दमौलीको पर्यटन व्यवसाय आझेलमा पर्न गएको छ ।
पर्यटकीय शहर
सन २००३ ,२००४,२००७, २००९ र २०१० र अहिले २०१८मा विश्व सुन्दरी प्रतियोगिता गर्न पाएको सान्याले आफ्नो मुहार फेर्न सकेको छ । वि.सं. २०३३ मा १२ मिलियन डलरको लागतमा सुन्दरी प्रतियोगिता ग्राम र समुन्द्रको बीचमा १०८ फिट अग्लो बुद्धको मूर्तिकोे निर्माण गरिए पछि सान्या सहरमा पर्यटन विकासको सम्भव भएको हो । समुन्द्री किनारमा रहेको पिछडिएको तथा अति दुर्गम यस सान्या टापुमा आउने जाने मानिसहरुको संख्या नगण्य नै थियो । त्यहाँ जाने व्यक्तिहरु हातको औंलामा गन्न सकिन्थ्यो । तर अहिले सान्या सहर विश्वका पर्यटकहरुको एक चर्चित एवं रमणीय गन्तव्य स्थल बन्न पुगेको छ । अमेरिकाको हवाई टापुको तुलना गर्दै पर्यटकहरु सान्यालाई चीनको हवाई टापु भन्न थालेका छन् । दुई दशकको छोटो समयावधीमा नै एउटा पर्यटकीय गन्तव्य स्थान बन्न सफल भएको हो सान्या । आश्चर्य जनक प्रगतिले सान्यका नागरिकहरुको जीवन शैलीमा व्यापक परिवर्तन ल्याइदिएको छ । पर्यटन व्यवसाय मौलाएकै कारण सान्यामा फराकिला मोटर मार्गहरु र आलिशान घरहरु निर्माण भएका छन् ।
विश्व सुन्दरी प्रतियोगिता नगरेता पनि व्यास नगर दमौलीमा मगर सुन्दरीको प्रतियोगिता भने सम्पन्न भएको थियो । यस्ले दमौलीको पर्यटनका पूर्वाधार तयार गर्न सकेको छैन । दमौलीलाई पर्यटन नगरी बनाउने मामलामा महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति र सेतीमादी नदीमा निर्माण गरिने कृत्रिम तालहरुले जीवन्तता दिन सक्ने विश्वास गरिएको छ । पर्यटन नगरी बनाउने मामलामा दमौली मरुभूमि हो । मरुभूमिमा पानीको कल्पना गर्नु मृगतृष्णा भएको छ । जीवन खोज्नु मूर्खता बनेको छ । यस्तै रहने हो भने कहिले बन्छ त हाम्रो पर्यटकिय सहर –व्यासनगर दमौली ?
श्री गुमेको दमौली
गान्सु प्रान्तबाट चार चार दिन रेलको यात्रा गरेर सान्या पुग्ने क्याण्डी जस्ता पर्यटन व्यवसायीहरु दमौलीमा छिमेक बाट आएका छैनन । सान्या जस्तै दमौलीलाई माया गर्नेहरुको कमी छ यहाँ । दमौलीको कमाई काठमाण्डौ लगेर महल बनाउनेहरुको ताँती भेटिन्छन् दमौलीमा । पर्यटन विकासको मूलद्वार मानिएको व्यासको १०८ फिट अग्लो मूर्ति निर्माण गर्ने कार्यले आजसम्म गती पाउन सकिरहेको छैन । येनकेन प्रकारेण बल्ल गुरु योजना निर्माण कार्यक्रमको सुरुवात भएको छ । यहाँका राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरु, समाजसेवीहरु र व्यापार व्यवसायमा संलग्न नेतृत्वहरुमा व्यवसायीक रणकौशलता भेटिदंैन । संघियताले दमौलीको प्रतिष्ठा खस्केको छ । जिल्लाको सदरमुकाम भएता पनि यहाँको चहलपहलमा न्यूनिकरण हुँँदै गइरहेको छ । यसैले त दमौली २०२५ सालमा श्री गुमेको बन्दिपुर जस्तै देखिंदै गएको छ । तर अहिले बन्दिपुर पहाडकी रानी बनेर पर्यटन व्यवसायलाई अंगाल्दै गुमेको श्री पुनः हात पार्दै छे ।
अन्त्यमा
भूपरेवेष्ठित नेपालको तनहुँ जिल्लामा समुन्द्र नभएता पनि मादी सेतीबुल्दी, छाव्दी र सांगे खोलाहरु छन् । यिनै खोला तथा नदीहरुमा बाँध बाधेर दमौलीमा कृत्रिमताल बनाउन सकिन्छ । पर्यटन व्यवसायले जसरी सान्याका नागरिकहरुको जीवनशैलीमा परिवर्तन ल्यायो त्यसरी नै दमौलीवासीहरुको जीवनशैली समृद्ध बनाउने जिम्मेवारी हाम्रो स्थानीय निकामको काँधमा आएको छ । तनहुँको विकास किन भएन ? के गर्दा यस्को उन्नती र प्रगति हुन्छ ? भन्ने कुरामा सबैको ध्यान पुगोस । इजरायलको जेरुसेलम सहर जस्तो होस या चीनको सान्या सहर जस्तो निर्माण गरी दमौलीलाई आधुनिकीकरण गर्न हामी सबैले प्रण गरौं । व्यासनगर दमौलीलाई पनि पर्यटनमुखी सहरमा विकास गर्ने बाताबरण सृजित गरौं । हाम्रो पनि यही सुभेच्छा छ । -बस्न्यात ऐतिहासिक विषयमा शसक्त कलम चलाउने तनहुँका लेखक हुन्।
326 2 minutes read












