प्रहार समाचार । काठमाडौ, मंसिर २१ बिहिबार । काठमाडौं महानगरकमा मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने भएको छ ।
६० दिनमा महानगरले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको जनाएको छ भने ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिएको छ । यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने काठमाडौं महानगर पालिकाका प्रमुख बालेन साहले सामाजिक संञ्जाल फेसबुक मार्कत जानकारी दिएका छन्। महानगरमा गत असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको थियो।
मेयर साह लेख्छन्- “सोचेजस्तो धेरै कुकुर र विरालोको संख्या भेटिएन । टोलमा भेटिएका कुकुर विरालाहरुलाई वडाका प्रतिनिधिको रोहवरमा अभिलेखन गरेर पशुकल्याण तथा पशु अधिकारलाई आत्मसात गर्दै समाउने, बन्ध्याकरणका लागि सेल्टरमा लैजाने तथा उपचारपछि पुनस्र्थापना गरिरहेका छौँ । बन्ध्याकरण गरिएका कुकुर विरालोको एअर नोच (कानमा सानो चिन्ह) लगाएको छ ।

हाम्रो लक्ष्य भनेको सामुदायिक कुकुर र बिरालाको संख्या सीमित गरेर, भएकाहरूलाई बस्न र बाँच्न उचित वातावरण तयार पार्ने हो ।
हामी कार्यक्रमलाई निरन्तर सञ्चालन गरिरहेका छौँ । पुसको पहिलो हप्ताबाट हामीले अभियानमा तपाईँको सहभागिता अपेक्षा गरेका छौँ । यसका लागि तपाईँले एअर नोच नभएका कुकुर विराला देख्नुभयो भने हाम्रो कल सेन्टरको निःशुल्क फोन नं. ११८० मा सम्पर्क गरेर जानकारी गराउन सक्नुृहुनेछ । हामी यस्ता कुकुर विरालालाई बन्ध्याकरण तथा रेविज विरुद्धको खोप सेवा उपलब्ध गराउँछौँ ।
काठमाडौँ महानगरपालिकाले २०८० सालमा कुकुरबिरालो बन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि जारी गरेको छ । यही कार्यविधिमा उल्लेख भएका व्यवस्थाका आधारमा कार्यक्रम चलाइएको हो ।

घर पालुवा जनावरको हकमा भने घर धनी आफैले बन्ध्याकरण र खोपको व्यवस्था मिलाउन हामी अनुरोध गर्न चाहन्छौ । यसका साथै घरपालुवा कुकुर र बिरालोलाई ‘माइक्रो चिप्स’ जडान प्रक्रियामा छौँ । त्यसपछि अनिवार्य रूपमा घरपालुवा जनावर पाल्ने घरधनी सबैले उक्त चिप्स राख्नु पर्नेछ । यसबाट संख्या एकिन भइ संख्या र अवस्था व्यवस्थापन गर्न सहज हुनेछ ।
हामी चौपायाहरुलाई ओसारपसार गर्न एम्बुलेन्स खरिद प्रक्रियामा छौँ । मृत जनावरको व्यवस्थापनका लागि इन्सिनिरेटर खरिद गर्दैछौँ । यसबाट पशुकल्याण तथा सहज वातावरणमा बाँच्ने पशु अधिकारमा नयाँ आयाम थपिनेछ ।” मेयर बालेनले स्पष्ट पारेका छन् ।
























