प्रहार समाचार । बाजुरा, मंसिर २० बुधबार
बुधबार बाजुराकी एक महिलाले बाटोमानै बच्चा जन्माएपछि नेपालको स्वास्थ्य अवस्था उदाङ्गीएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा अरबौं रकम लगानी गर्छ तर संबन्धित क्षेत्रमा उक्त सेवा र सुविधाहरु कहिल्यै पुग्दैन।

यसै परिप्रेक्षमा बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी हुन्।
सुत्केरी व्यथा लाग्ने बित्तिकै रोकाया एक्लै मंगलवार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले जानकारी दिइन्।
आफू स्वास्थ्य चौकी जाँदै गर्दा बाटोमा सुत्केरी व्यथा लागेको अवस्थामा रोकायालाई देखेपछि सहयोग गरेकी थिएँ,’ उनले भनिन्। रोकायालाई बच्चा जन्माइसकेपछि अत्यधिक रक्तस्राव भएकाले बाटोबाट उद्धार गरी स्वास्थ्य चौकी लगिएको चदाराले बताइन्।
अरू कोही आफन्त नभएको भन्दै एक्लै स्वास्थ्य चौकी आउँदै गर्दा व्यथा लागेपछि बाटोमा बच्चा जन्माएको उनको भनाइ छ।
रोकायाका यसअघि एक छोरा र एक छोरी छन्। उनले तीनै सन्तान बाटोमै जन्माएकी छन्। बाजुरामा रोकाया मात्र नभइ धेरै आमा बाटोमै बच्चा जन्माउन बाध्य छन्।केही महिना पहिला काँडाकी ३२ वर्षीया उज्जली सुनारले पनि बाटोमै छोरी जन्माएकी थिइन्।
गौमूल गाउँपालिका–३ माझपालीकी २१ वर्षीया भाँग्य चदारा, हिमाली गाउँपालिका–१ बामुकी नानी रोकाया, हिमाली–२ नातिखोलाकी २३ वर्षीया पार्वती बुढा, स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटकी ३५ वर्षीया कार्तिका विकलागयत पनि स्वास्थ्य संस्था जाँदै गर्दा व्यथा लागेपछि बाटोमै नवजात शिशु जन्माएका केही उदाहरण हुन्’, रुगिन चौकीमा कार्यरत बिमला पाण्डेले भनिन्।
उनकाअनुसार यी केही उदाहरण मात्र भएको जनाउँदै बाजुराका दुर्गम गाउँका बाटो र घरमा सुत्केरी हुनेको सङ्ख्या धेरै रहेका छन्। बाजुरामा चार वर्षयता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ।

गर्भवती भएपछि नियमित गर्भ जाँचको कमी र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुर्याउँदाको परिणाम रहेको बडिमालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर खड्काले बताए।
सुत्केरी भएको बेला आराम नगर्ने, पोसिलो खानेकुरा नखाने, कडा परिश्रम गर्नेलगायत कारणले सुत्केरी महिलाले ज्यान गुमाउने गरेको उनले बताए।
बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिना एकदेखि दुई जना महिला बाटोमै सुत्केरी हुने गरेका खड्काले बताए। सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दा पनि सुत्केरी महिला मर्ने क्रम नरोकिएको उनको भनाइ थियो । अझै पनि बाजुरा लगायतका जिल्लाहरूमा प्रजनन् स्वास्थ्य निकै दयनीय अवस्थामा रहेको खड्काले बताए ।




















