प्रहार समाचार । तनहुँ, मंसीर ७ बिहिबार ।
१२ औँ कर दिवसको अवसरमा चार जिल्लाका उत्कृष्ट करदाताहरू सम्मानित भएका छन् ।
आन्तरिक राजश्व कार्यालय दमौली तनहुँद्वारा बिहिबार आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा करदाताहरुलाई सम्मान गरिएको हो।
आर्थिक वर्ष २०७८/७९ मा आयकर तर्फ सबैभन्दा बढि कर तिर्ने तनहुँ जिल्लाको ट्रेडिङ तर्फ गण्डकी ट्रेड सप्लायर्सका प्रोपाइटर देवकुमार श्रेष्ठ लाई सम्मानित गरिएको थियो। त्यस्तै गरी वित्तीय तर्फ सबैको लघुवित्त वित्तीय संस्था डुम्रे तनहुँ र पेट्रोलियम व्यवसाय तर्फ सुगम आयल स्टोर्सलाई सम्मान गरिएको थियो।
त्यसैगरि गोरखा जिल्लाबाट वित्तिय तर्फ साधना लघुवित्त वित्तिय संस्था र ट्रेडिङ तर्फ कलश आयल स्टोर्सलाई सम्मान गरिएको थियो। त्यसैगरि लमजुङ जिल्लाबाट आयकर तर्फ कृषक जागरण वचत तथा ऋण सहकारि संस्था र मनाङ बाट आर. डि. वि कन्ट्रक्सन एण्ड सप्लायर्स लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र आन्तरिक राजश्व कार्यालय तनहुँका प्रमुख डमरु प्रसाद पराजुलीले संयुक्त रूपमा उनिहरुलाई सम्मानपत्रका साथ दोसल्ला ओढाई सम्मान गरेका थिए।
त्यस अबसरमा बोल्दै प्रजिअ रिजालले आन्तरिक राजस्व कार्यालयले करदाताहरुलाई सहजरुपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
राजश्व कार्यालयका प्रमुख डमरू प्रसाद पराजुलीले समय अनुसार कार्यालयले करदाताको हितमा छिटो, छरितो र सहजा ढङ्गले सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सदस्य हरिकुमार श्रेष्ठ, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाप्रसाद सुवेदी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल प्रसाद रिमाल, भानु नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, भिमाद नगर उद्योग वाणिज्य संघ अध्यक्ष हस्त बहादुर खड्का लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
त्यस अवसरमा आन्तरिक राजस्व कार्यालय दमौलीका नासु सुमन परियारलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद, सम्मानपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण आन्तरिक राजश्व कार्यालय तनहुँका कर अधिकृत प्रेरणा क्याप्छाकी मगरले गरेकी थिइन् ।
























