हेडलाईनसाहित्यम्याग्देप्रदेश

जनको मनमा शुभलाभ भरूँ

१.
असलीपनको हकदार बनूँ
जगजीवनको रखवार बनूँ
नर गौरवको उपमा म बनूँ
शुभ सौरभमा सुषमा म बनूँ ।
२.
सहजानुभवी शुभ कर्म गरी
जनका घरमा सुखका लहरी
छलछाम सबै अब चूर्ण गरूँ
जनको मनमा शुभलाभ भरूँ।
३.
अब राष्ट्रभरी वचनामृतको
क्षमता भरिने सुख कौशलको
रमणीय छटा जलपूर्ण घडा
तरिका सजिला भरियोस् ममता ।


४.
मनमा जनको शुभ आश पसोस्
नव भक्ति स्वदेश सुवास बसोस्
सपना जनका मनका चुलियोस्
शुभ न्याय हुने समता हुलियोस् ।
५.
नव जीवनमा लयधार मिली
गतिला क्षमता समभाव खिली
हलुका चतुरा नव दृष्टि खुलुन्
जनले लफडा दुख दर्द भुलुन् ।
६.
रविको शुभ घोष सपना सजिओस्
प्रभुको पदको महिमा भजियोस्
अब नष्ट हुने सब राष्ट्र खुनी
गरिमा भरियोस् शुभ स्वच्छ चुनी ।
७.
उपकार मिलोस् जनका घरमा
शुभ लग्न मिलोस् कविता वरमा
शुभ चन्द्र र सूर्य ध्वजा फहरोस्
जनका मनमा शुभ रङ्ग भरोस् ।


८.
छलछाम हटोस्, मन शान्त रहोस्
सुविधा थपियोस् जन जीत मिलोस्
कटुता शठता सब नष्ट हुने
नव चेतन स्वच्छ बनून् थपिने ।
९.
जय होस् सबको उपकार सदा
रसिलो सजियोस् उपचार तथा
सब ध्वस्त बनून् अपराध कथा
जनको मन होस् लयदार सफा ।
१०.
म भनूँ कसरी भन प्राणवती
म बनूँ तपसी अब ध्यान पसी
सुखका दुखका पलमा म रमूँ
हिम शैल चढी चुचुरा म जमूँ ।
११.
भन के दुइमा छ र भेद कुनै ?
म तयार भएँ विनयी उभिने
विजयी बनिओस् असली नमुना
भर छाल छटा अब लौ जमुना ।


१२.
कविता सविता रमिता उपमा
नवजीवनको सरिता सुषमा
शुभ यान चढी अब काल यहाँ
मुरली सुनियोस् शुभ गान नयाँ ।
१३.
कविता म सुनौं शुभ ध्यान दिई
मनमा ननिका कटुता नलिई
जमुना तटमा म बसें तपसी
सुविधा शुचिता छु लिने लहडी ।
१४.
सपना विमला घरवार दियौ
मनमा मुटुमा अझ भित्र थियौ
व्यवहार थियौ उपकार दियौ
विपना विमला सपना सजियौ ।


१५.
परिवार सबै जब साथ थियौँ
ममता सुकिला शुभ प्रेम दियौ
विधिले कसरी सुविधा रचियौ
गएको दिनमा दुविधा थपियौ ।
१६.
मन चन्द्र छ यो अति शीतल जो
भन रत्न कथा अझ कोमल त्यो
करुणामय छौ उपकार गरी
दुनियाँ सबकी दिलकी नगरी ।
१७.
शुभ स्नेह भरी मृदुला ममता
सम भाव गरी सहजा क्षमता
मन निर्मल यो रसपान गरी
कमला चपला गर खोज परी ।
१८.
जमुना नमुना जल छाल बह्यौ
दुखका दिन ती सुख साथ सह्यौ
अनुदार हुने भय शोक हटे
शुभदा सरला मन ज्ञान डटे ।
१९.
मन निश्च्छलमा हमला नगरी
अब मित्र हुने लय झिक्न परी
छु तयार भनी अब मण्द खुला
वचनामृतको लयमा चलुँला ।
२०.
अवतार लियौं सुषमा कसरी
शुभलाभ हुने तरिका जसरी
मन मख्ख भयो, तन छक्क छ यो
भन स्नेह कुरा सजिलो सुरको ।


 

Show More

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button