प्रहार समाचार । काठमाडौं, ११ मंसिर २०८३ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक दौडधुपले पछिल्लो समय नयाँ बहस सिर्जना गरेको छ। प्रधानमन्त्री बालेन शाहसँग पाँच घण्टा लामो छलफल गरेको भोलिपल्टै लामिछाने राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।

राष्ट्रपति भवनमा भएको भेटलाई सामान्य शिष्टाचारमा मात्र सीमित नराखी सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक परिस्थितिबारे गम्भीर छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँग लामो वार्तालगत्तै राष्ट्रपतिसँग भएको भेटले सत्ताको शक्ति सन्तुलन, सरकार सञ्चालनको दिशा र आगामी राजनीतिक निर्णयबारे विभिन्न प्रश्न उब्जाएको छ। विशेषगरी अध्यादेशको विषयले राजनीतिक वृत्तमा थप चासो बढाएको छ। सरकार र संसद्सँग जोडिएका विषयमा राष्ट्रपतिसँगै छलफल गर्नुपर्ने अवस्था किन आयो भन्ने प्रश्न पनि स्वाभाविक रूपमा उठेको छ। पाँच घण्टा प्रधानमन्त्रीसँग र त्यसलगत्तै राष्ट्रपतिसँगको भेटले लामिछानेको सक्रियता मात्र होइन, सत्ता राजनीतिभित्र चलिरहेको आन्तरिक संवाद र रणनीतिक चलखेलतर्फ पनि संकेत गरेको छ।
तर यी भेटवार्ताबाट के निष्कर्ष निस्कियो र सरकार तथा संसद्सँग सम्बन्धित विषयमा कस्तो निर्णयको तयारी भइरहेको छ भन्नेबारे भने सार्वजनिक गरिएको छैन। भेटघाट बाक्लिए पनि त्यसको परिणाम र राजनीतिक जवाफदेहिता कति स्पष्ट हुन्छ भन्ने प्रश्न अब चासोको विषय बनेको छ।











