प्रहार समाचार । काठमाडौँ, ११ मंसिर २०८३ शुक्रबार । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ३ हजार ९ सय १५ जनालाई सरकारले मृतक घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ।

लामो समयदेखि बेपत्ताको सूचीमा रहेका उनीहरूलाई मृतक घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको हो। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ जना नेपाली र १९ विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६ सय २३ जना विदेशी नागरिकलाई मृतक घोषणा गर्न सिफारिस गरेको छ। प्राकृतिक विपद्ले बेपत्ता बनाएका हजारौँ नागरिकको अवस्था अब कानुनी रूपमा टुङ्ग्याउने दिशामा सरकार अघि बढेको छ।बेपत्तालाई मृतक घोषणा गर्ने प्रक्रिया अघि बढेसँगै पीडित परिवारको लामो अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ। विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई सरकारले मृतक घोषणा गर्न सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस तथा विदेशी नागरिकका हकमा सम्बन्धित नियोगबाट प्राप्त सूचीका आधारमा दाबी पेस गर्न दुई चरणमा सातदिने सूचना जारी गरिएको थियो। बैठकले मृतक घोषणाको सिफारिससँगै २०८७ सम्म सबै समुदायमा पूर्वसूचना प्रणाली पुर्याउने राष्ट्रिय मार्गचित्र पनि स्वीकृत गरेको छ।
वन डढेलो र वायु प्रदूषणबाट उत्पन्न विपद् जोखिम न्यूनीकरणका राष्ट्रिय रणनीति तथा कार्ययोजना पनि पारित भएका छन्। विपद् आएपछि उद्धार र राहतमा मात्र सीमित हुने प्रवृत्ति बदल्नुपर्ने सन्देशसहित बैठकले जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ। डडेलधुराको आलिताल गाउँपालिकाका भोकागाउँ र मालागाउँका २४ तथा बलौचागाउँका २२ घरधुरीलाई सुरक्षित स्थानमा सारिनेछ। त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क–७ मुडुङ्गेका ४० घरधुरी र गोरखाको चुमनुब्री–३ देवलगाउँका ३२ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ। विपद्ले मानवीय क्षति पुर्याएपछि मात्रै सक्रिय हुने होइन, जोखिम पहिचान गरी नागरिकको ज्यान जोगाउने पूर्वतयारी र प्रभावकारी कार्यान्वयन नै राज्यको मुख्य जिम्मेवारी हो।











