प्रहार समाचार । तनहुँ, १८ असोज २०८३ आइतबार । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा तनहुँ प्रहरीले वृद्धाश्रममा पुगेर ज्येष्ठ नागरिकसँग आत्मीयता साट्दै उनीहरूको सुरक्षा र सम्मानप्रति प्रतिबद्धता जनाएको छ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासंघ नेपाल ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रहरीले ज्येष्ठ नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका अनुभव, गुनासा र आवश्यकताबारे जानकारी लिएको थियो। उमेरसँगै बढ्दै जाने एक्लोपन र असुरक्षाको भावनालाई कम गर्दै ज्येष्ठ नागरिकप्रति समाज, परिवार र राज्यको दायित्व अझ बलियो बनाउनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।

प्रहरी र समुदायबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले गरिएको भेटघाटले ज्येष्ठ नागरिकलाई आफूहरू समाजबाट टाढा नभएको अनुभूति गराएको थियो।ज्येष्ठ नागरिकको सम्मान केवल दिवसमा गरिने औपचारिकतामा सीमित नराखी उनीहरूको सुरक्षा, स्वास्थ्य, सम्मान र आत्मसम्मानलाई दैनिक सामाजिक व्यवहारकै हिस्सा बनाउनुपर्नेमा कार्यक्रमले जोड दिएको छ। समुदाय प्रहरी साझेदारीमार्फत प्रहरीले ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवादलाई निरन्तरता दिँदै उनीहरूलाई आवश्यक सहयोग र सुरक्षाको भरोसा दिलाउने जनाएको छ।























