प्रहार समाचार । तनहुँ, १६ भदौ २०८३ मङ्गलवार । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि भानु नगरपालिकाले नेपाल सरकारसँग हातेमालो गर्दै ५ लाख सहयोग गर्ने निर्णय गरेको छ। भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय फुस्रेटारले सार्वजनिक गरेको सूचनाअनुसार नगरपालिकाले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने भएको हो ।
नगरपालिकाले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको दायित्व र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सहयोग गर्ने निर्णय गरेको जनाएको छ। त्यसैगरी, भानु नगरपालिकामा कार्यरत सामुदायिक शिक्षक तथा विद्यालयका कर्मचारीको मासिक तलबबाट ३६ लाख ५२ हजार ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने जनाइएको छ। नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार रसुवाका बाढीपीडितको घाउमा मलम लगाउने उद्देश्यले नगरपालिकाले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्नुका साथै शिक्षक तथा विद्यालय कर्मचारीबाट समेत सहयोग जुटाउने निर्णय गरेको हो। यसबाट विपद्को समयमा स्थानीय तह, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबीचको सामूहिक सहयोग र ऐक्यबद्धता देखिएको नगरपालिकाले जनाएको छ ‘

यसैबीच, भानु नगरवासीको तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाले जनप्रतिनिधिहरूको कम्तीमा १० दिनको सेवा सुविधाबापतको रकम उपलब्ध गराउने निर्णय गरेको छ। नगरवासीको खोज, उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक पर्ने रकम अपुग भएमा ‘नगर विपद् कोष’ शीर्षकबाट खर्च गरिने सार्वजनिक सूचनामा उल्लेख छ। पछिल्लो समय बाढी, पहिरो तथा डुबानलगायतका विपद्का घटना बढिरहेका बेला भानु नगरपालिकाले बाह्य जिल्लाका विपद्पीडितलाई सहयोगसँगै आफ्ना नगरवासीको खोज तथा उद्धारलाई समेत प्राथमिकतामा राखेको हो।
















