प्रहार समाचार । तनहुँ, १५ भदौ २०८३ सोमबार । सडक विस्तार र बेवास्ताका कारण ओझेलमा परेको आँबुखैरेनीको ऐतिहासिक ‘नयाँ चौतारो’ र ठाँटी पुनः सफा गरेर यात्रु तथा स्थानीयका लागि प्रयोगयोग्य बनाइएको छ। आँधीमुल नेपाली कल्याण समाजले सञ्चालन गरेको सरसफाइ अभियानको छैटौँ दिन शनिबार दवाडी चौतारादेखि अछामी डाँडासम्मको आँधीमुल सडक मार्गसँगै घना झाडीले ढाकिएको नयाँ चौतारो र ठाँटीको सरसफाइ गरिएको हो ।

लामो समयदेखि झाडीले ढाकिँदा बाटोसमेत पहिचान गर्न कठिन भएको उक्त स्थल सरसफाइपछि आफ्नो पुरानो स्वरूपमा फर्किएको छ। चार दशकअघि स्वर्गीय मेजर नरबहादुर बाचे ‘मेजर बा’को स्मृतिमा मेजर्नी आमाले निर्माण गरेको नयाँ चौतारो र ठाँटीको स्थानीय इतिहासमा छुट्टै महत्व रहेको स्थानीय बताउँछन्। सडक निर्माण हुनुअघि आँधीमुलतर्फ आवतजावत गर्ने बटुवाका लागि यो महत्वपूर्ण विश्रामस्थल थियो। थकित तथा तिर्खाएका बटुवाका लागि चौतारोमा गाग्रोमा पानी राख्ने परम्परासमेत रहेको स्थानीयको भनाइ छ। दवाडी, माझ र चारपाटे चौतारोभन्दा पछि निर्माण भएकाले उक्त स्थलको नाम ‘नयाँ चौतारो’ रहन गएको बताइन्छ।आँधीमुल सडक निर्माणका क्रममा बाटोको दुवैतर्फ रहेका चारपाटे चौतारो भत्किएपछि त्यसको कुनै अवशेष बाँकी छैन। माझ चौतारोमा रहेको बरको रुखसमेत यसै वर्ष आएको हुरीले ढालेपछि त्यसको अस्तित्व संकटमा परेको छ।

बस्ती नजिकै रहेको दवाडी चौतारो भने मर्मत तथा सुधारपछि स्थानीयका लागि गर्मी छल्ने र विश्राम गर्ने स्थलका रूपमा पुनः स्थापित भएको छ। यसले सडक विकाससँगै पुराना चौतारा तथा विश्रामस्थल संरक्षणमा ध्यान नदिँदा स्थानीय इतिहास र संस्कृति नै हराउँदै जाने जोखिम देखाएको छ।सरसफाइ अभियानमा सहभागीहरूका लागि आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले खाजाको व्यवस्था गर्नुभएको थियो। समाजले स्थानीय ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सार्वजनिक स्थलको सरसफाइलाई निरन्तरता दिँदै आएको जनाएको छ। नयाँ चौतारो र ठाँटीको सरसफाइले तत्कालका लागि स्थललाई पुनः प्रयोगयोग्य बनाए पनि यस्ता ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षण, मर्मत र प्रवर्द्धनका लागि स्थानीय तह तथा समुदायले थप पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।

















