प्रहार समाचार । तनहुँ, १३ भदौ २०८३ शनिबार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि तनहुँमा बेपत्ता भएकाहरूको खोजीका क्रममा शव भेटिने क्रम अझै रोकिएको छैन। शनिबार जिल्लाका दुई स्थानीय तहका नदी किनारबाट थप पाँच शव फेला परेका छन्। देवघाट गाउँपालिका–५ बाट तीन तथा आँबुखैरेनी गाउँपालिका–४ बाट दुई शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेका पाँचै शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न दमौली अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए। बाढीले बगाएर ल्याएका हुन सक्ने आशंकामा प्रहरीले नदी किनार, आसपासका क्षेत्र तथा सम्भावित स्थानहरूमा खोजीलाई निरन्तरता दिइरहेको छ। यसअघि भदौ १० गते नौ, भदौ ११ गते १९ र भदौ १२ गते तीन शव फेला परेका थिए। शनिबार थप पाँच शव भेटिएसँगै तनहुँ जिल्लाको क्षेत्रमा मात्रै फेला परेका शवको संख्या ३६ पुगेको छ।

लगातार शव भेटिन थालेपछि बाढीको मानवीय क्षतिको भयावहता थप स्पष्ट हुँदै गएको छ।प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। नदीमा बाढीको बहावसँगै बगेर आएका हुन सक्ने थप शवको सम्भावनालाई मध्यनजर गर्दै तनहुँका नदी किनार तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार कार्य आइतबार पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।

















