प्रहार समाचार । तनहुँ, १३ भदौ २०८३ शनिबार । तीज पर्वका अवसरमा हुने रमाइलो र शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गर्दै तनहुँको व्यास नगरपालिका–४ स्थित सिमलटार टोल विकास संस्थाले बाढीपीडितका लागि नगद सहयोग गरेको छ ।

टोलले २६ हजार २ सय रुपैयाँ सहयोग गरेको हो । विपद्को पीडामा परेका नागरिकलाई तत्काल मानवीय साथ आवश्यक रहेको भन्दै संस्थाले उत्सवको खर्च कटाएर राहतमा रकम केन्द्रित गरेको जनाएको छ। बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले संस्थाले टोलका प्रत्येक घरधुरीबाट २ सय रुपैयाँका दरले रकम सङ्कलन गरेको संस्थाकी अध्यक्ष चन्द्रकला बोहोराले जानकारी दिइन्।
थोरै–थोरै रकम धेरै घरधुरीबाट जुटाउँदा २६ हजार २ सय रुपैयाँ सङ्कलन भएको हो। संस्थाले उक्त रकम विपद्मा परेका नागरिकको राहतका लागि उपलब्ध गराएको जनाएको छ। तीजका अवसरमा आयोजना गर्ने तयारी गरिएको शुभकामना आदानप्रदान कार्यक्रमसमेत संस्थाले स्थगित गरेको छ। कार्यक्रम आयोजना गर्दा हुने खर्चलाई आफ्नै मनोरञ्जनमा खर्च गर्नुको सट्टा विपद्का कारण घरबार र आफन्त गुमाएका तथा संकटमा परेका नागरिकको सहयोगमा लगाउने निर्णय गरिएको अध्यक्ष बोहोराले बताइन्।‘आफूले मनाउने खुसीभन्दा पीडितको पीडा ठूलो’ भन्ने भावनासहित गरिएको यो सहयोगले स्थानीयस्तरमा विपद्मा सामूहिक सहयोगको उदाहरण प्रस्तुत गरेको छ।
देशका विभिन्न क्षेत्रमा आएको विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भइरहेका बेला सानो भए पनि मानवीय सहयोग गर्न रकम प्रदान गरिएको अध्यक्ष बोहोराले बताइन्। सिमलटार टोल विकास संस्थाको यो निर्णयले चाडपर्वको खर्चलाई विपद् राहतमा रूपान्तरण गर्न सकिने सन्देशसमेत दिएको छ।
















