व्यासहेडलाईनसमाचारगण्डकी

मर्यादित पोशाक र परिचयपत्रबिना तनहुँ जिल्ला अदालत प्रवेश निषेध

प्रहार समाचार । तनहुँ, १४ साउन २०८३ बिहीबार । तनहुँ जिल्ला अदालतले अदालतमा सेवा लिन आउने सेवाग्राही तथा लेखापढी व्यवसायीका लागि पोशाकसम्बन्धी कडा व्यवस्था लागू गरेको छ। अदालतको प्रशासन शाखाले आज सूचना जारी गर्दै सामाजिक रूपमा मर्यादित (कुम र घुँडा ढाकिने) पोशाक अनिवार्य रूपमा लगाएर मात्र अदालत प्रवेश गर्न पाइने जनाएको हो।

अदालतले तारेखमा आउने सेवाग्राहीले तारेख पर्चा साथमा लिनुपर्ने व्यवस्था समेत गरेको छ। अदालतका अनुसार अबदेखि सेवाग्राहीले मर्यादित पोशाक नलगाई वा आवश्यक कागजातबिना अदालत प्रवेश गर्न पाउने छैनन्। अदालतको गरिमा, अनुशासन र सेवाप्रवाहलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गरिएको जनाइएको छ। सूचनामा उल्लिखित मापदण्ड पूरा नगर्ने व्यक्तिलाई अदालत प्रवेशमा रोक लगाइने स्पष्ट चेतावनी दिइएको छ।त्यसैगरी, लेखापढी व्यवसायीहरूले पनि लेखापढी व्यवसायी संशोधित नियमावली, २०५१ को नियम ५ (१) (झ) बमोजिम अनुसूची–५ मा तोकिएको पोशाक तथा परिचयपत्र अनिवार्य रूपमा लगाएर मात्रै अदालत प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

अदालतले नियमविपरीत पोशाक वा परिचयपत्रबिना आउने लेखापढी व्यवसायीलाई समेत प्रवेश अनुमति नदिइने जनाएको छ। तनहुँ जिल्ला अदालतले जारी गरेको सूचनामार्फत अदालतमा सेवा लिन आउने सबै सेवाग्राही, कानुन व्यवसायसँग सम्बन्धित व्यक्तिहरू तथा सरोकारवालालाई उक्त व्यवस्था अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। अदालतले तोकिएको मापदण्ड पालना नगर्ने जो–कोहीलाई अदालत परिसर प्रवेशमै रोक लगाइने भएकाले सबैलाई नियमको पूर्ण पालना गर्न समेत निर्देशन दिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button