हेडलाईनसमाचारगण्डकी

पहिरो पीडित परिवारलाई मध्यनेपाल नगरपालिकाको राहत : मृतकका परिवारलाई जनही १ लाख, पुनःस्थापना र उपचारमा पनि सहयोग

• विजय अधिकारी (प्रहार संवाददाता) लमजुङ, १३ साउन २०८३ बुधबार। लमजुङको मध्यनेपाल नगरपालिकाले वडा नं. ७ भाटबेसीमा पहिरोमा परी ज्यान गुमाएका बाबु–छोरीका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

नगरप्रमुख रमेश कुमार पाण्डेको अध्यक्षतामा बसेको आकस्मिक विपद् व्यवस्थापन समितिको बैठकले ५९ वर्षीय टिकाबहादुर विक र उनकी १५ वर्षीया छोरी विनिता विकका परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट जनही १ लाख रुपैयाँका दरले कुल २ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।बैठकले पहिरोमा घाइते भई उपचाररत ५० वर्षीया शुकमाया विक र १६ वर्षीया अस्मिता विकको उपचारका लागि आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

साथै पीडित परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री व्यवस्थापनका लागि विपद् व्यवस्थापन कोषबाट थप ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख पाण्डेले जानकारी दिए।नगरप्रमुख पाण्डेका अनुसार पीडित परिवारको पुनःस्थापना, आवास व्यवस्थापन तथा आवश्यक राहत र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गरी थप सहजीकरण गरिनेछ।

नगरपालिकाले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत प्राथमिकता दिने जनाएको छ।गत सोमबार राति सिति खोलाबाट ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले मध्यनेपाल–७ भाटबेसीस्थित धन्सार पुरिँदा एउटै परिवारका चार जना पुरिएका थिए। उद्धारपछि उपचारका क्रममा टिकाबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको थियो भने शुकमाया विक र अस्मिता विकको पोखरामा उपचार भइरहेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने जोखिमयुक्त बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाई आवश्यक परे सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button