हेडलाईनसमाचारबागमती

विवादपछि दुर्गेश थापाद्वारा ‘मास्टर्नी’ गीत हटाइयो, शिक्षक समुदायसँग सार्वजनिक क्षमायाचना

प्रहार समाचार । काठमाडौं, २ साउन २०८३ शनिबार । चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको गीतप्रति चर्को आलोचना भएपछि कलाकार तथा सर्जक दुर्गेश थापाले सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले गीतका केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक–शिक्षिका, गुरुजन तथा दर्शकहरूको भावनामा ठेस पुगेको स्वीकार गर्दै आफू र सम्पूर्ण टिमका तर्फबाट हृदयदेखि नै माफी मागेका हुन्।

थापाले आफ्नो आधिकारिक वक्तव्यमा उक्त गीतको उद्देश्य कुनै पनि पेशा, व्यक्तित्व वा कसैको सम्मानमा आँच पुर्‍याउने नभई चलचित्रको प्रचार–प्रसारलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नु मात्र रहेको स्पष्ट पारेका छन्। तर, प्राप्त प्रतिक्रिया, आलोचना र सुझावलाई सम्मान गर्दै शिक्षक समुदायप्रति आफ्नो सम्मान सधैं अटल रहने बताएका छन्। उनले दर्शकहरूको भावनाको सम्मानस्वरूप ‘मास्टर्नी’ गीत आफ्नो आधिकारिक युट्युब च्यानल तथा अन्य सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी दिएका छन्।

पछिल्लो समय उक्त गीतलाई लिएर नेपाल शिक्षक महासङ्घसहित विभिन्न पक्षबाट आपत्ति जनाउँदै गीत हटाउन र सार्वजनिक रूपमा माफी माग्न दबाब बढेको थियो। थापाले आफू दर्शकलाई भगवानसरह मान्ने उल्लेख गर्दै उनीहरूले दिएका सुझावलाई आत्मसात् गरी आगामी दिनमा अझ जिम्मेवार, उत्कृष्ट र सबैको मन जित्ने सिर्जना लिएर आउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै निरन्तर माया, विश्वास, साथ र सकारात्मक सुझावका लागि सम्पूर्ण दर्शक, श्रोता, शुभचिन्तक तथा गुरुजनप्रति आभार पनि व्यक्त गरेका छन्।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button