प्रहार समाचार । तनहुँ, २४ चैत २०८२ मंगलबार । सेवाग्राहीलाई सास्ती दिने र अनावश्यक रकम असुल्ने बिचौलियाविरुद्ध प्रहरीले कडा कदम चाल्न थालेसँगै देश भरका मालपोत कार्यालयबाट बिचौलियाहरू धमाधम पक्राउ पर्न थालेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्याङजाको पुतलीबजार नगरपालिका–१ स्थित मालपोत कार्यालय परिसरबाट एक जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आँधिखोला गाउँपालिका–६ टिकाजाका ३० वर्षीय अमृत ढकाललाई सेवाग्राहीलाई हैरानी दिएको आरोपमा पक्राउ गरिएको हो। सरकारी सेवा लिने क्रममा अनावश्यक झन्झट सिर्जना गर्दै बिचौलियाको भूमिका खेलेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सरकारी कार्यालयलाई बिचौलियामुक्त बनाउने विशेष अभियानअन्तर्गत ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधारीले जानकारी दिए। पक्राउ परेका ढकालमाथि थप अनुसन्धान भइरहेको छ।
यसैबीच मालपोत कार्यालय तनहुँ, दमौलीको हाता भित्र बिचौलियाहरुलाई प्रतिबन्ध लगाईएको छ । कार्यालयका प्रमुख मालपोत अधिकृत प्रमुख राजेन्द्र प्रसाद पौडेलले लेखापढी गर्ने हरुलाई कार्यालयको हाता भित्र प्रतिबंध लगाइएको जानकारी दिए । उनले भने ‘कार्यालयकै एक जना कर्मचारीलाई गेटमा नै राखेर के काम हो ? कुन कोठामा जाने हो ? सोधखोज गरि सहज ढङ्गले सेवा प्रवाहमा सहजता प्रदान गरिएको छ।’
उता झापाको पूर्वी नाका काँकडभिट्टामा पनि प्रहरीले बिचौलियाविरुद्ध अभियान तीव्र बनाएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले सोमबार बसपार्क, भन्सार क्षेत्र र बजार आसपासबाट यात्रु तानातानमा संलग्न २४ जना बिचौलियालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले सेवाग्राहीलाई ठग्ने तथा अनावश्यक दुःख दिने बिचौलियामाथि निगरानी बढाउँदै कारबाहीलाई अझ कडाइ गर्ने स्पष्ट पारेको छ।



























