प्रहार समाचार । काठमाडौँ, २८ पुस २०८२ सोमबार । नेपाली कांग्रेसको विशेष महाधिवेशन अब केवल विधान संशोधन वा आन्तरिक छलफलमा सीमित नरही नेतृत्व चयनकै दिशामा अघि बढ्ने संकेतसहित निर्णायक मोडमा पुगेको छ। विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशन प्रतिनिधिहरूको बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै मंगलबारदेखि बन्दसत्र र निर्वाचन प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन्।

आज साँझ काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेताहरूले हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्या निरन्तर बढिरहेको र पार्टीभित्र शक्ति सन्तुलन आफूहरूतर्फ ढल्किएको दाबी गरे। नेता सुवास पोखरेलका अनुसार आइतबारसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका थिए भने सोमबार थप ६.२४ प्रतिशत वृद्धि भएको छ। यससँगै हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या ६३ प्रतिशतभन्दा माथि पुगेको उनको भनाइ छ।

पोखरेलले संस्थापन पक्षलाई लक्षित गर्दै पार्टीको वर्तमान नेतृत्वलाई नै विधानसम्मत नभएको आरोप लगाए। “संस्थापन हाम्रो विधानले चिन्दैन,” भन्दै उनले पार्टीका सबै नेता तथा प्रतिनिधिलाई बन्दसत्रमा सहभागी हुन आह्वान गरे। उनले ६६ प्रतिशत बहुमतको चर्चा भइरहेका बेला आफूहरू ७० प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्याएर देखाउने दाबीसमेत गरे।
उनका अनुसार मंगलबार बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुनेछ। बन्दसत्रमा ९ वटा समूह रहनेछन् भने प्रदेशगत रूपमा प्रतिवेदन प्रस्तुत गर्ने क्रम सुरु भइसकेको छ। कोशी प्रदेशले प्रतिवेदन बुझाइसकेको र अन्य प्रदेशको रिपोर्ट समेत क्रमशः पेश हुने उनले जानकारी दिए।

विशेष महाधिवेशन पक्षधरहरूले महाधिवेशनमार्फत नै नेतृत्व चयनको प्रक्रिया अघि बढाउने स्पष्ट संकेत गरेका छन्। मंगलबारबाट निर्वाचन प्रक्रिया सुरु हुने, साथै निर्वाचन समिति, अनुशासन समिति र केन्द्रीय समिति लगायतका संरचनाहरू भंग गरिने उनीहरूको घोषणा छ। यसलाई कांग्रेसभित्र समानान्तर निर्णय प्रक्रियाको अभ्यासका रूपमा पनि हेरिएको छ।
विशेष महाधिवेशनले पार्टीलाई एकताको नयाँ ढोका खोल्ने कि झनै गहिरो विभाजनतर्फ लैजाने भन्ने प्रश्न अहिले कांग्रेसको केन्द्रमा छ। हस्ताक्षरको संख्या, विधानको व्याख्या र नेतृत्वको वैधानिकताबारे चर्किएको बहसले नेपाली कांग्रेसलाई इतिहासकै संवेदनशील मोडमा पुर्याएको देखिन्छ।
अब सबैको ध्यान मंगलबार सुरु हुने बन्दसत्र र त्यसपछि हुने निर्णयतर्फ केन्द्रित भएको छ। कांग्रेस महाधिवेशनबाटै नयाँ नेतृत्व रोज्ने बाटोमा जान्छ कि आन्तरिक सहमतिमा फर्किन्छ—यसको उत्तर अब केही घण्टा र दिनमै स्पष्ट हुने देखिन्छ।



























