हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्णायक दिन : नीति मन्थनपछि नेतृत्वको भविष्य टुंगो लाग्ने

प्रहार समाचार । काठमाडौं, २८ पुस २०८२ सोमबार । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रलाई पार्टीको भावी दिशा र नेतृत्वको भाग्य निर्धारण गर्ने निर्णायक चरणका रूपमा हेरिएको छ। आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि आजको बन्दसत्रमा नीति, विधान र नेतृत्वबारे गम्भीर बहस केन्द्रित हुने भएको छ।
महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बिहान १० बजेदेखि बन्दसत्र औपचारिक रूपमा सुरु भएको हो। प्रारम्भिक चरणमा महाधिवेशन सञ्चालनका लागि आवश्यक कार्यविधि तय गरिनेछ भने त्यसपछि प्रतिनिधिहरूलाई नौ समूहमा विभाजन गरी चार प्रमुख विषयमा गहिरो नीति–मन्थन गरिनेछ।

बन्दसत्रमा विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार तथा समसामयिक राजनीतिक विषयलाई मुख्य एजेन्डा बनाइएको छ। यी विषयमा हुने छलफललाई कांग्रेसको आन्तरिक सुधार र जनविश्वास पुनःस्थापनाको आधार मानिएको छ।
सबैभन्दा चासोको विषय भने नीति–मन्थनपछि हुने नेतृत्व परिवर्तनसम्बन्धी निर्णय हो। नेतृत्व परिवर्तन गर्ने निष्कर्षमा महाधिवेशन पुग्दा निर्वाचन समिति गठन गरी थप प्रक्रिया अघि बढाइने तयारी रहेको पोखरेलले जानकारी दिए। तर नयाँ कार्यसमिति निर्विरोध चयन हुन सक्ने सम्भावना उच्च रहेकाले मतदान नै नपर्न सक्ने संकेत पनि उनले गरे।


यसैबीच महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया आज बिहान ११ बजेसम्म जारी रहनेछ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार अधिकांश जिल्लाबाट प्रतिनिधि बिहानै काठमाडौं आइपुगेका छन् र बिहान ८ बजेदेखि दर्ता कार्यक्रममा सक्रिय सहभागी भएका छन्।
विशेष महाधिवेशनको बन्दसत्रले कांग्रेसलाई संगठनात्मक रूपमा कसरी पुनर्जीवित गर्ने र नेतृत्वमा निरन्तरता वा परिवर्तन कुन दिशामा जाने भन्ने विषयमा स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ। आजको बहस र निर्णयले पार्टीको आगामी राजनीतिक यात्रालाई निर्णायक मोड दिने देखिन्छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button