हेडलाईनसमाचारसबै प्रदेश

चुनाव गराउने मितिमा कुनै सम्झौता नगर्न राष्ट्रपतिको कडा सन्देश

प्रहार समाचार । काठमाडौँ, २८ मंसिर २०८२ आइतबार । राष्प्रट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गते तय भएको निर्वाचन मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगर्न सरकारलाई स्पष्ट सन्देश दिएका छन्। निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डका रूपमा उल्लेख गर्दै राष्ट्रपति पौडेलले सरकारको सम्पूर्ण ध्यान निष्पक्ष, स्वतन्त्र र समयमै चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे। प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सरकारलाई प्रशासनिक तथा राजनीतिक गतिविधिहरू चुनावमैत्री बनाउँदै अघि बढ्न सुझाव दिएका हुन्।

निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई अघिल्ला चुनावभन्दा अझ तदारुकताका साथ सुरक्षा व्यवस्थामा जुट्न निर्देशन दिए। शान्ति, स्थायित्व र नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो।

सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेकी थिइन्। प्रतिवेदनमा वर्तमान सुरक्षा अवस्था, जोखिम मूल्याङ्कन तथा भावी चुनौतीहरूको चित्रण गरिएको बताइएको छ।

राष्ट्रपति पौडेलले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा थपिएका सुरक्षा चुनौतीहरूलाई समयमै पहिचान गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु नै राजनीतिक स्थायित्व र लोकतान्त्रिक विश्वासको आधार हुने उनको धारणा थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button