हेडलाईनसमाचारगण्डकी

शिक्षक सहकारी लमजुङको १२औँ साधारण सभा सम्पन्न

• विजय अधिकारी (संवाददाता) लमजुङ, २९ मंसिर २०८२ सोमबार । सहकारी क्षेत्रप्रति बढ्दो आलोचना र अविश्वासका बीच लमजुङका शिक्षकहरूले सञ्चालन गर्दै आएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नीति, पारदर्शिता र अनुशासनलाई प्राथमिकतामा राख्दै १२औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सदरमुकाम बेसीशहरमा भएको साधारण सभाले संस्थागत स्थायित्व र जिम्मेवार सहकारी अभ्यासको सन्देश दिएको छ।

सभाको उद्घाटन जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङले गर्दै पछिल्लो समय केही सहकारीमा देखिएका विकृतिले समग्र सहकारी क्षेत्र बदनाम भइरहेको उल्लेख गर्दै शिक्षक सहकारी भने सहकारीका मापदण्डभित्र रहेर सञ्चालनमा रहेको स्पष्ट पारे ।

लेखा परीक्षक कपिलकुमार घिमिरेले संस्थाको वास्तविक आर्थिक अवस्थाबारे जानकारी गराउँदै सहकारीको वित्तीय स्थिति सन्तोषजनक रहेको प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी लेखा समिति संयोजक इन्दिरा कार्कीले लेखा समितिको प्रगति विवरण प्रस्तुत गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई थप बलियो बनाउँदै लगिने बताइन् ।

कोषाध्यक्ष महादेव अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार सहकारीमा हाल १४८ जना शेयर सदस्य रहेका छन्। संस्थाको कुल शेयर पुँजी ४३ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने कुल बचत संकलन ११ लाख १८ हजार १७३ रुपैयाँ रहेको छ। यस्तै, कुल ऋण लगानी २५ लाख ५० हजार रुपैयाँ, ऋण असुली ४४ लाख ४३ हजार ८७३ रुपैयाँ र असल ऋण २० लाख ५५ हजार ७७६ रुपैयाँ १६ पैसा रहेको जनाइएको छ। बचत फिर्ता रकम ८ लाख ५७ हजार ५९९ रुपैयाँ ९३ पैसा रहेको छ।

सहकारी अध्यक्ष अंगराज घिमिरेले प्रतिवेदन प्रस्तुत गर्दै केही सहकारीमा देखिएका समस्याका आधारमा सबै सहकारीलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राख्नुभयो। उहाँले शिक्षक सहकारी सदस्यहरूको विश्वास, इमान्दारिता र सामूहिक जिम्मेवारीकै कारण निरन्तर अघि बढिरहेको उल्लेख गरे । ब

कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय सदस्य नुर मोहम्मद मियाँ, गण्डकी प्रदेश महासचिव शिवराज अधिकारी, लमजुङ जिल्ला अध्यक्ष सूर्यबहादुर के.सी. तथा ट्रेड युनियन कांग्रेस लमजुङका अध्यक्ष तीर्थराज तिवारीलगायतले सहकारीको भूमिकामाथि धारणा राखेका थिए । कार्यक्रममा उपाध्यक्ष नानुमाया रिमाल, सचिव काशीनाथ अधिकारी लगायतले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमा अध्यक्ष अंगराज घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।

२०६८ सालमा ६४ जना शिक्षक शेयर सदस्यबाट सुरु भएको यो सहकारीले १२ वर्षको यात्रामा सदस्य संख्या र पुँजी दुवैमा उल्लेखनीय वृद्धि गर्दै शिक्षकहरूको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सहभागीहरूको भनाइ थियो।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button