प्रहार समाचार । काठमाडौं, २७ मंसिर २०८२ शनिबार । कमजोर ब्याटिङले सुदूरपश्चिम रोयल्सलाई फाइनलमै निराश बनाउँदा लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि आफ्नो पोल्टामा पारेको छ। आज कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले इतिहास रच्दै नयाँ च्याम्पियनको रूपमा आफूलाई स्थापित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ८५ रनमै समेटिनु नै खेलको निर्णायक मोड बन्यो। ओपनर इशान पाण्डेले ३३ रन जोडेर केही प्रतिरोध देखाए पनि कप्तान दीपेन्द्र सिंह ऐरी (२०) र हर्मित सिंह (१०) बाहेक अन्य ब्याटर चल्न सकेनन्। निरन्तर विकेट पतन र जिम्मेवारीविहीन ब्याटिङका कारण टोली अन्तिम ओभरको पाँच बल बाँकी रहँदै अलआउट हुन बाध्य भयो ।
सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले दबाबरहित खेल प्रदर्शन गर्दै लक्ष्य सहजै भेट्टायो। बलिङतर्फ कप्तान रोहित पौडेल र शेर मल्लले समान तीन–तीन विकेट लिएर सुदूरपश्चिमको मेरुदण्ड भाँचिदिए भने रुबेन ट्रम्पेलम्यान र तिलक भण्डारीले समेत महत्वपूर्ण योगदान दिए। टोलीको सामूहिक प्रदर्शन नै उपाधिको आधार बन्यो।
लगातार दोस्रो पटक फाइनल पुगे पनि सुदूरपश्चिम उपविजेतामै सीमित रहँदा लुम्बिनीले भने लिग र प्लेअफ चरण पार गर्दै पहिलो पटक उपाधि जित्ने उपलब्धि हासिल गर्यो। रोहित पौडेलको कप्तानीमा लुम्बिनीले निर्णायक खेलहरूमा देखाएको आत्मविश्वास र अनुशासनले यस संस्करणको एनपीएललाई नयाँ च्याम्पियन दिएको छ।
























