हेडलाईनसमाचारबन्दीपुरगण्डकीस्वास्थ्य

तनहुँको भुजेल गाउँका बालबालिकामा लायन्स क्लबद्धारा न्यानो कपडा वितरण

प्रहार समाचार । तनहुँ, २७ मंसिर २०८२ शनिबार । तनहुँका बन्दीपुर गाउँपालिका–५ भुजेल गाउँस्थित आदि वाराही प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई लायन्स क्लब अफ तनहुँ दमौली र लायन्स क्लब अफ तनहुँ डुम्रेले संयुक्त रूपमा न्यानो कपडा वितरण गरेको छ ।

जाडोयामका कारण विद्यार्थीको उपस्थितिमा असर नपरोस् भन्ने उद्देश्यले गरिएको कार्यक्रममा विपन्न परिवारका बालबालिकालाई न्यानो सामग्री वितरण गरिएको थियो। दुर्गम बस्तीमा केन्द्रित यो सहयोगले शिक्षा निरन्तरतामा टेवा पुर्‍याउनुका साथै सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले भुजेल बस्तीमै पुगेर साना विद्यार्थीहरूलाई सहयोग गरेकोमा लायन्स क्लबप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता कार्यक्रमले बालबालिकाको मनोबल बढाउने र समुदायमा सकारात्मक ऊर्जा फैलाउने भन्दै आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए। लायन्स क्लब अफ दमौलीका अध्यक्ष वसन्त जिसीले आफूहरूभन्दा कम भाग्यमानी बालबालिका रहेका स्थानमा सेवा पुर्‍याउनु क्लबको मूल उद्देश्य भएको बताए।

कार्यक्रममा लायन्स क्लबका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ राकु, पूर्व अध्यक्षहरू सरोज भण्डारी, महेन्द्र रिजाल, रनिल रोक्का, विद्यालयकी प्रधानाध्यापक निर्मला अधिकारीलगायतले बालबालिकाको शिक्षामा सहयोग गर्नु समाजको साझा दायित्व भएको धारणा राखे। शिक्षक, अभिभावक र स्थानीयवासीहरूले न्यानो कपडाले जाडोमा विद्यालय जान सहज हुने विश्वास व्यक्त गर्दै लायन्स क्लब अफ दमौली र डुम्रेको यो पहलले समुदायमा आशा र प्रेरणा थपेको बताएका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button