प्रहार समाचार । काठमाडौँ, २७ मंसिर २०८२ शनिबार । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा सुरु हुँदैछ । ऐतिहासिक चाँगुनारायण मन्दिरको प्रतीकात्मक स्वरूप झल्किने गरी निर्माण गरिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय पालालाई रिमोटमार्फत बालेर महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा देशभरबाट करिब तीन लाख कार्यकर्ता सहभागी हुने एमालेको दाबी छ ।

महाधिवेशन उद्घाटनलाई राष्ट्रिय एकता र सांस्कृतिक विविधताको सन्देश दिने कार्यक्रमका रूपमा प्रस्तुत गरिँदैछ । कार्यक्रममा २०० भन्दा बढी कला र संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिनेछ । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि सहभागी हुनेछन् । विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भएको एमालेले जनाएको छ ।
सुरक्षा र व्यवस्थापनका लागि एमालेले २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवकलाई ‘ड्रेसकोड’मा खटाएको छ । त्यस्तै, जनसेवा, अनुशासन र सुरक्षा व्यवस्थापनका लागि १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिएको छ । उद्घाटनस्थलमा तीन किलोमिटर परसम्म सुनिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम र दायाँ–बायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ ।
महाधिवेशन स्थलमा नेता, मन्त्री, सांसद र कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ । सहभागी सवारी साधनका लागि गट्ठाघर र जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ भने उद्घाटनअघि विभिन्न स्थानबाट भव्य र्यालीसहित सल्लाघारी पुग्ने कार्यक्रम तय गरिएको छ । व्यापक तयारीसहित एमालेले यस महाधिवेशनलाई संगठनात्मक शक्ति र एकताको सन्देशका रूपमा अघि बढाएको देखिन्छ ।
























