प्रहार समाचार । काठमाडौँ, २६ मंसिर २०८२ शुक्रबार । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पदभार सम्हालेको तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेको छ। जेनजी आन्दोलनको बलमा भदौ २७ गते सिंगो नेतृत्व परिवर्तन भएको राजनीतिक पृष्ठभूमिमा आएको यो विस्तारलाई सरकारको काम–कारबाही तीव्र बनाउने प्रयासका रुपमा ब्याख्या गरिएको छ !

शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले चार जना नयाँ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराए। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी वरिष्ठ अधिवक्ता कुमार इमनाङलाई दिइएको छ। उनि वरिष्ठ अधिवक्ता एवं भूमि स्वामित्व, सहकारी व्यवस्थापन र सामुदायिक हकसम्बन्धी मुद्दामा लामो समय वकालत गर्दै आएका व्यक्ति हुन्।
श्रम तथा रोजगार मन्त्रालय पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने भएका छन् । उनि नेपाल प्रहरीका पूर्व एआइजी हुन् भने उनले प्रहरी सेवामा रहँदा मानव बेचबिखन नियन्त्रण, श्रम शोषणमा परेका नागरिकको उद्धार, वैदेशिक रोजगारीमा ठगी नियन्त्रण जस्ता अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

जनस्वास्थ्यविद् माधव चौलागाईं वन तथा वातावरण मन्त्रालयका नयाँ मन्त्री बनेका छन्। उनि वातावरणीय स्वास्थ्य, वन क्षेत्रमा जनस्वास्थ्य जोखिम, जलवायु परिवर्तन र रोग जोखिमबीचको सम्बन्धमा अनुसन्धान कर्ता हुन्। त्यसैगरी श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्वमा पुगेकी छन्। उनि सामाजिक अभियन्ता तथा वर्षौंदेखि महिला अधिकार, बाल संरक्षण, लैङ्गिक हिंसा नियन्त्रण र जेष्ठ नागरिक हेरचाहका क्षेत्रमा काम गर्दै आएकी पात्र हुन् ।
चुनाव केन्द्रित सरकारको कार्यकाल अब तीन महिना मात्र बाँकी हुँदा मन्त्री थपिएको सन्दर्भलाई धेरैले महत्वपूर्ण राजनीतिक संकेतका रूपमा लिएका छन्। प्रशासनिक निर्णायकता अभाव, ढिलो गतिमा अघि बढेको सरकारी काम र आगामी संघीय चुनावको तयारीलाई व्यवस्थित गर्न मन्त्रिपरिषद् बलियो बनाउने उद्देश्य रहेको प्रक्षेपण गरिएको छ।

सरकारलाई तोकिएको मुख्य दायित्व—निष्पक्ष, समावेशी र समयमै चुनाव सम्पन्न गर्ने—वटाउँदै अघि बढ्न अब नयाँ मन्त्रीहरूको सक्रियता निर्णायक हुने अपेक्षा गरिएको छ।

























