हेडलाईनव्याससमाचारगण्डकीखेलकुद

नेसनल प्याब्सन तनहुँको आयोजनामा तेह्रो खेलकुद महोत्सव दमौलीमा सुरु

प्रहार समाचार । तनहुँ, २६ मंसिर २०८२ शुक्रबार । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) तनहुँले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा पहिचान र नेतृत्व क्षमता वृद्धि गर्ने उद्देश्यसहित तेह्रो खेलकुद महोत्सव विहीबारदेखि दमौलीमा सुरु गरेको छ।

दमौली बजारमा झाँकीसहितको वृहद् प्रभातफेरीपछि पूर्व केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले महोत्सवको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै सापकोटाले शिक्षा क्षेत्रमा निजी विद्यालयको लगानीलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिए। “यदि निजी क्षेत्रले शिक्षा क्षेत्रमा लगानी नगरेको भए आज देशको शैक्षिक स्तर कस्तो हुन्थ्यो?” सापकोटाले प्रश्न उठाउँदै भने, “राज्यले निजी विद्यालयको योगदानलाई बिर्सिन हुँदैन।”

उनले ऐन, नियम र नीतिहरू कहिलेकाहीँ संस्थागत विद्यालयलाई कमजोर बनाउने भनेका कारण चिन्ता व्यक्त गरेका थिए। “गुणस्तरीय शिक्षा दिन निजी क्षेत्रले निर्धक्क भएर लगानी गर्नसक्ने वातावरण सरकारले बनाउनुपर्छ,” उनले जोड दिए।

नेसनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, व्यास नगर शिक्षा अधिकारी केदार प्रसाद आचार्य, एन्प्याब्सनका केन्द्रिय उपाध्यक्ष दिपेन्द्र चौहान, खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरे।

एन्प्याब्सन तनहुँका उपाध्यक्ष प्रकाश खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव ऋषिकेश केसीले गरेका थिए।


तेह्रो संस्करणको खेलकुद महोत्सवमा एन्प्याब्सन अन्तर्गतका २८ विद्यालयका ५ सय ९२ खेलाडीले प्रतिस्पर्धा गरिरहेको नेसनल प्याब्सन तनहुँका अध्यक्ष खनालले जानकारी दिए। सहभागी सबै खेलाडीलाई एक लाख रूपैयाँ बराबरको बीमा सुविधा व्यवस्था गरिएको उनले बताए ।

उद्घाटनका अवसरमा प्रभातफेरीमा उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा र अनुशासित विद्यालयलाई दुई–दुई हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button