प्रहार समाचार । तनहुँ, २३ मंसिर २०८२ मंगलबार । निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधि संस्था एन प्याब्सन तनहुँले आगामी मङ्सिर २५–२६ गते दमौलीमा आयोजना गर्न लागेको दुईदिने खेलकुद महोत्सवलाई अन्तिम रूप दिएको छ। आज दमौलीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारेमा जानकारी गराउँदै आयोजकले यसपटक विद्यार्थीको चौतर्फी विकासलाई केन्द्रमा राखेर “विस्तारित र प्रभावकारी” महोत्सव गर्न लागिएको बताए ।

एन प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ र करिब चार लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। खेलकुदलाई निजी विद्यालयको वार्षिक क्यालेन्डरमै समावेश गरिएको उल्लेख गर्दै केन्द्रीय उपाध्यक्ष तिलकबहादुर चौहानले “किताबी ज्ञानसँगै खेलकुद र अनुशासन विद्यार्थीको जीवनका आधारस्तम्भ हुन्” भन्दै यो कार्यक्रम निरन्तरता दिनु आवश्यक भएको टिप्पणी गरे।

यसपटकको महोत्सवमा ६ पालिकाका २८ विद्यालयका ५ सय ९२ विद्यार्थी सहभागी हुनेछन्। एथलेटिक्स, उफ्रने–फ्याँक्ने तथा भलिबल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ। २४ स्वर्ण पदकका साथै लगातार तीन वर्ष विजेता बनेको विद्यालयलाई शिल्ड प्रदान गरिनेछ। उत्कृष्ट सहभागी संख्या, झाँकी र अनुशासन प्रदर्शन गर्ने विद्यालयलाई दुई–दुई हजार नगद, टफी र प्रमाणपत्र दिइनेछ।
विद्यार्थी खेलाडीहरूलाई खेल अवधिभर एक लाख रुपैयाँ बराबरको जीवन बीमा गरिएको आयोजकहरूले जानकारी दिए। उपाध्यक्ष प्रकाश खड्का, विश्वास केसी र सचिव ऋषिकेश केसीले खेलकुदमार्फत विद्यार्थीको अतिरिक्त सिकाइ र आत्मविश्वास वृद्धि हुने भएकाले आगामी वर्षहरूमा अझ व्यापक रूपमा महोत्सव सञ्चालन गरिने प्रतिबद्धता जताए।
























