प्रहार समाचार । काठमाडौँ, २४ मंसिर २०८२ बुधबार । आज देशभर आज कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहने तथा अधिकांश भू–भागमा सफा र स्थिर मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षा–हिउँजन्य गतिविधि नदेखिएपछि हिउँदको चिसो बढ्दै गएको महाशाखाले जनाएको छ ।

दिउँसो कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मात्र आंशिक बदली देखिने अनुमान गरिएको छ । बाँकी सबै प्रदेशमा आकाश सामान्यतया खुला रहने भएकाले हवाई तथा सडक आवागमन सहज हुने मौसमविद्हरूको भनाइ छ ।
महाशाखाले राति पनि उस्तै स्थिरता रहने बताएको छ। विशेषगरी तराई र उपत्यकामा खुला आकाशका कारण चिसो थप बढ्ने, बिहान–साँझ न्यूनतम तापक्रम घट्दै जाने सम्भावना रहेको मौसम विश्लेषकहरूको मूल्याङ्कन छ।
काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे ६.० डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको महाशाखाले जनाएको छ।
स्थिर मौसम तथा तापक्रमको गिरावटले हिउँदे प्रभाव झनै महसूुस हुन थालेको छ भने चिसोजन्य सावधानी अपनाउन विशेषज्ञहरूले अनुरोध गरेका छन्।
























