प्रहार समाचार । तनहुँ, २२ मंसिर २०८२ सोमबार । तनहुँ दमौलीको मुख्य व्यावसायिक क्षेत्र मानिने व्यास–३ सिर्जना टोलमा अनियन्त्रित रूपमा सवारीसाधन पार्किङ, सडक छेउछाउ सामान थुपार्ने, तथा चोकमा नै गाडी थान्को लगाउने प्रवृत्ति बढ्दै जाँदा स्थानीय त्रसित बनेका छन्। व्यास–२ का घर–व्यापार गर्ने हरुले समेत आफ्ना निजी गाडी अन्यको आँगन तथा घरको ढोकैसम्म पार्किङ गरेको गुनासो बढेपछि यसले स्थानीय बासिन्दाको दैनिकी समेत अस्तव्यस्त बनाएको बताइएको छ।

स्थानिय त्रिभुवन श्रेष्ठले “सडक कसैको निजी सबारी साधन थान्को लाउने ठाउँ हो ? सिर्जना टोललाई गोदाम र पार्किङ स्थल बनाउन खोजिएको हो ?” भन्दै प्रश्न उठाएका छन्। उनले सिर्जना टोल अन्य व्यावसायिक टोलसरह चहलपहलयुक्त र व्यवस्थित बनाउन जिम्मेवार निकायले कत्तिको ध्यान दिएको छ भन्ने प्रश्न गरेका छन् ।
उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, ट्राफिक प्रहरी तथा विभिन्न संघ–सस्थाहरूले यस्तो अबस्था रोक्नुपर्नेमा बेवास्ता गरेको स्थानीयको आरोप छ। उनीहरूका अनुसार बजार विस्तार र व्यावसायिक गतिविधि बढ्दो क्रममा हुँदा ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्था तथा सार्वजनिक स्थानको संरक्षणमा कुनै ठोस पहल नहुँदा सिर्जना टोल दिनदिनै ‘अनियन्त्रित पार्किङ जोन’ बन्दै गएको छ।
स्थानीयले जिम्मेवार निकायलाई तत्काल स्थायी पार्किङ व्यवस्थापन, सडक अनुशासन कडाइ र व्यावसायिक क्षेत्रको समग्र विकासमा प्राथमिकता दिन आग्रह गरेका छन्।



























