प्रहार समाचार । काठमाडौँ, २२ मंसिर २०८२ सोमबार । सडक स्तरोन्नतिमा आएको ढिलाइ टार्न सरकारले नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकखण्डका दुई चुनौतीपूर्ण भाग एक सातासम्म दैनिक पाँच घण्टा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय सङ्गै काठमाडौँ भित्रने तथा बाहिरिने यात्रुहरुलाई सास्ती हुने भएको छ। काठमाडौँ र धादिङ प्रशासनले संयुक्त सूचना जारी गर्दै मंसिर २४ देखि पुस १ सम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा समय सावधानीपूर्वक मिलाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

सडक निर्माणमा अपेक्षित प्रगति नदेखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघि मन्त्री, निर्माण व्यवसायी र सरोकारवालाबीच छलफल गरेको थियो। ती छलफलमा सवारीको भीडले आवश्यक ढुवानी साधन चलाउन नपाएको र साँघुरा ठाउँमा भारी उपकरण परिचालन गर्न कठिनाइ भएको निर्माण पक्षले स्पष्ट पारेको थियो। स्तरोन्नतिको अन्तिम चरणमा पुगेको त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड र धादिङको जोखिमपूर्ण पोखरेभिर क्षेत्रमा एकैचोटि काम गर्नुपर्ने आवश्यकता देखिएपछि यस्तो कदम चालिएको बताइएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार मंसिर २४ देखि पुस १ सम्म रोजाना बिहान १०:३० बजेदेखि अपराह्न ३:३० बजेसम्म दुबै खण्डमा पूर्णरूपमा यातायात बन्द हुनेछ। काठमाडौँबाट नौबिसे हुँदै बाहिरिने सवारीसाधन नागढुङ्गा चेकपोस्टमै रोकिनेछ भने मुग्लिङतर्फबाट राजधानीतर्फ आउने सवारी खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटारजस्ता बिन्दुहरूमा थुनिनेछन्। अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल र शववाहनलाई भने ट्राफिक प्रहरीले विशेष समन्वयमार्फत आवागमन गराउने व्यवस्था हुनेछ।

बन्द अवधिमा साना तथा मझौला सवारीसाधनले सीतापाइला–भिमढुङ्गा, रामकोट–धार्के र सामाखुसी–टोखा–छहरे मार्ग वैकल्पिक रूपमा प्रयोग गर्न सक्नेछन्। रोकिएका सबै सवारी अपराह्न ३:३० बजेपछि मात्र सञ्चालनमा आउने सूचनामा उल्लेख छ। प्रशासनले यात्रु र चालकलाई समयमै यात्रा तय गर्न, अनावश्यक जोखिम नलिन र सम्भावित भीडभाडलाई ध्यानमा राख्दै सुरक्षित रूपमा मार्ग चयन गर्न अनुरोध गरेको छ।



























