हेडलाईनविचारप्रदेश

जेन-जी विद्रोह : विगतका गल्तीहरूबाट सिक्दै अबको ऐतिहासिक कदम

 

‘जेन्जी आन्दोलनको नाममा गलत हर्कत गर्ने, प्रतिगामी नारा लगाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा आन्दोलनमा घुसपैठ गर्ने तत्वहरूप्रति कठोर व्यवहार गर्नुपर्छ। अझ खतरनाक कुरा त के छ भने, विगतमा बारम्बार सत्तामा बसेर जनविरोधी हर्कत गरेका कतिपय अनुहारहरू फेरि ‘गोहिको आँसु’ झार्दै अग्रसर हुन खोजेका छन्। यस्ता अवसरवादी र सत्ता-लोभी तत्वहरूबाट सावधान रहन अत्यावश्यक छ।’ भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लेख्छन् :

अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ—“Success has a hundred fathers; defeat is an orphan.” नेपालीमा यसको भाव मिल्दो उक्ति छ— “माछा देखे भित्र हात, सर्प देखे बाहिर हात।” अर्थात्, जब सफलता देखिन्छ, सबै जना अग्रसर भएर श्रेय लिन धाउँछन्, तर जब संकट आउँछ, कोही अगाडि आउँदैन।

अहिले पनि जेन-जी विद्रोहको अन्तिम परिणाम के हुनेछ भन्ने विषयमा स्पष्टता नआइसकेको अवस्था छ। तर यही अनिश्चितताबीच पनि, को को यसको वास्तविक अगुवा हुन्? कसको के भूमिका रह्यो? भन्ने प्रश्नहरूमा अन्योल देखिनु दुर्भाग्यपूर्ण हो।

१. नेतृत्व र प्रतिनिधित्व: स्पष्टता आवश्यक :

भदौ २३ गते सुरू भएको यस ऐतिहासिक जनविद्रोहको प्रारम्भिक चरणमा जो-जो अग्रपङ्क्तिमा रहेर आन्दोलनको बीजारोपण र नेतृत्वमा लागे, तिनैलाई यसको वास्तविक प्रतिनिधिको रूपमा मान्यता दिनु न्यायसंगत हुनेछ। जो पछि साथमा आए, तिनको योगदानलाई सम्मानपूर्वक सहयोगीको रूपमा लिन सकिन्छ।

तर आन्दोलनको नाममा गलत हर्कत गर्ने, प्रतिगामी नारा लगाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा आन्दोलनमा घुसपैठ गर्ने तत्वहरूप्रति कठोर व्यवहार गर्नुपर्छ। अझ खतरनाक कुरा त के छ भने, विगतमा बारम्बार सत्तामा बसेर जनविरोधी हर्कत गरेका कतिपय अनुहारहरू फेरि ‘गोहिको आँसु’ झार्दै अग्रसर हुन खोजेका छन्। यस्ता अवसरवादी र सत्ता-लोभी तत्वहरूबाट सावधान रहन अत्यावश्यक छ।

२. अन्तरिम सरकार: जवाफदेही, निष्ठावान र निर्भीक बन्नु जरुरी :

हालको अन्तरिम सरकार कुनै दयामाया वा कृपाबाट होइन, जेन-जी विद्रोहको शक्तिशाली दबाब र ऐतिहासिक आवश्यकताबाट स्थापित भएको हो। त्यसैले यसले भित्री-बाहिरी कुनै शक्तिको दबाब वा डर नमानिकन, जनआन्दोलनका निष्ठावान प्रतिनिधिहरूप्रति उत्तरदायी भएर प्राप्त कार्यादेश पुरा गर्नैपर्छ।

सत्कर्मको जश तत्काल पाइन्छ कि पाइँदैन भन्ने होइन—इतिहासले अवश्य दिन्छ। त्यसैले निष्ठा, साहस र समर्पणका साथ अग्रसर हुनु अबको पहिलो सर्त हो।

३. राज्यका अन्य अंगहरूको भूमिका : सहयोग कि अवरोध ? :

मुख्य कार्यकारी सत्ता अन्तरिम सरकार भए पनि राज्यका अन्य स्थायी अंगहरू—जस्तै प्रशासन, न्यायपालिका, सुरक्षा निकाय, संवैधानिक आयोगहरू, प्रदेश तथा स्थानीय सरकारहरू—ले पनि यो ऐतिहासिक परिवर्तनलाई आत्मसात गर्नुपर्छ। नयाँ जन-आकांक्षाका साथ उभिएको यो परिवेशलाई बुझेर सक्रिय सहकार्य गर्नुको विकल्प छैन।

यदि कसैलाई यो रूपान्तरणप्रति गम्भीर असहमति छ भने पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुनेछ। तर असहयोग वा अन्तरघात गर्नु घातक हुनेछ।

४. गैर-राज्य क्षेत्र: सचेत जिम्मेवारीको समय :

लोकतान्त्रिक अभ्यासमा सधैं ओझेलमा पर्ने तर अत्यन्त महत्वपूर्ण क्षेत्र हो—गैर-राज्य क्षेत्र। विशेष गरी निजी क्षेत्रका उद्यमी–व्यवसायी, सार्वजनिक बौद्धिक वर्ग, सञ्चारकर्मी, श्रमिक, बुद्धिजीवी र आम नागरिकहरूले पनि यो संक्रमणकालीन समयलाई गम्भीरतापूर्वक आत्मसात गर्दै आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।

कसैले पनि ‘मूकदर्शक’ बन्ने छुट छैन। जनताको आन्दोलनले बनाएको यो ऐतिहासिक मोडमा सबै पक्षको सचेत, जिम्मेवार र सक्रिय सहभागिता अपरिहार्य छ।


निष्कर्ष

इतिहासको गति बदल्ने विरलै अवसरहरू आउँछन्। जेन-जी पुस्ता विद्रोह त्यस्तै एक अवसर हो। तर, विगतका आन्दोलनबाट सिक्दै हामीले स्पष्ट नेतृत्व, जनउत्तरदायी शासन, संस्थागत सहकार्य र नागरिक सहभागितामार्फत यसलाई परिवर्तनको सुनिश्चित दिशातर्फ लैजानुपर्छ।

नत्र, फेरि पनि आन्दोलनहरू अधुरै रहने र अवसरवादीहरूको हातमा देशको ताला चाबि पुग्ने खतरा कायमै रहनेछ। (- हामीले डा. भट्टराईको यो बिचार उनको फेसबुक पेजबाट लिएर सम्पादन गरेर प्रकाशित गरेका हौँ ।’ (सम्पादक )



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button