प्रहार समाचार । तनहुँ, ९ असोज २०८३ शुक्रबार ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट श्रमिक क्लस्टरतर्फ बसन्त जिसीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका छन्। लामो समय पार्टी संगठनमा सक्रिय रहँदै आएका भानु नगरपालिका–५ का जिसीले यसपटक श्रमिकको प्रतिनिधित्वलाई पार्टीको नीति र निर्णय तहसम्म पुर्याउने दाबीका साथ मैदानमा उत्रिन लागेका हुन्।

कांग्रेसको संशोधित कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ भने तनहुँमा प्रतिकूल मौसमका कारण क्षेत्रीय अधिवेशन असोज १२ र १३ गते गर्ने तयारी गरिएको छ। जिसी यसअघि वडा अधिवेशनबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। पार्टीमा लामो समयदेखि निरन्तर सक्रिय भए पनि ठूला सांगठनिक जिम्मेवारीमा नरहेका जिसीले पहिलोपटक महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा आफूलाई अघि सारेका हुन्।

सामाजिक तथा राजनीतिक गतिविधिसँगै यातायात क्षेत्रमा समेत सक्रिय उनी व्यासभूमि यातायातका अध्यक्ष हुन्। श्रमिक र यातायात क्षेत्रको प्रत्यक्ष अनुभवलाई संगठनभित्रको प्रतिनिधित्वसँग जोड्दै जिसीले “श्रमिकको अधिकार, समृद्ध नेपालको आधार” भन्ने नारासहित आफ्नो दाबी अघि सारेका छन्।जिसीको उम्मेदवारीलाई केवल एउटा पदको दाबीभन्दा श्रमिक पृष्ठभूमिबाट आएका कार्यकर्ताको नीति–निर्णय तहमा पहुँचको प्रयासका रूपमा प्रस्तुत गरिएको छ।
पार्टी संगठनमा निरन्तर सक्रियता, सामाजिक क्षेत्रमा क्रियाशीलता र श्रमिक समुदायसँगको प्रत्यक्ष सम्बन्धलाई आधार बनाउँदै उनले प्रतिनिधिका रूपमा भूमिका खोजेका छन्। “पार्टीमा निरन्तर सक्रिय रहँदै आएको छु। यसपटक श्रमिक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी दिने तयारी गरेको छु,” जिसीले भने। नेपाली कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरेको छ।





















