हेडलाईनसमाचारघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकी

तनहुँ–२ मा पेशागत विज्ञको खोजी : चर्चामा वरिष्ठ अधिवक्ता खनाल

दमौली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको राजनीतिक सरगर्मी बढिरहेका बेला तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट पेशागत विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिका रूपमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नाम चर्चामा आएको छ।

संगठनभित्र प्रतिनिधित्वको गणितसँगै नीति, विधान, संविधान र कानुनी विषयमा दख्खल राख्ने व्यक्तिको खोजी भइरहेका बेला लामो समयदेखि कांग्रेसको कानुनी तथा संवैधानिक बहसमा सक्रिय खनालको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको हो।

करिब चार दशकदेखि कानुन व्यवसायमा सक्रिय खनाल डेमोक्रेटिक लयर्स एसोसिएसन नेपाल (डीएलए–नेपाल) का पूर्वअध्यक्ष हुन्। उनले कांग्रेसको निर्वाचन विभागको संयोजकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। पार्टीका विभिन्न कानुनी तथा संवैधानिक विषयमा राय, परामर्श तथा अदालतमा बहस–पैरवी गर्दै आएका खनाललाई कांग्रेस वृत्तमा कानुनी विषयका जानकारका रूपमा चिनिन्छ। पछिल्लो समय कांग्रेसले गठन गरेको संविधान संशोधन अध्ययन तथा सुझावसम्बन्धी विज्ञ समितिमा समेत उनलाई सदस्यका रूपमा समेटिएको थियो।कांग्रेसको नीति र संगठनभित्र कानुनी तथा संवैधानिक विषयलाई केन्द्रमा राखेर बहस गर्ने पृष्ठभूमि नै खनालको राजनीतिक परिचयको महत्वपूर्ण आधार बनेको देखिन्छ। विशेष महाधिवेशनसम्बन्धी कानुनी प्रश्नदेखि पार्टी विधान, संवैधानिक अभ्यास र संगठनात्मक विषयमा उनले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्। नेपाल महिला संघको विधानको पूर्ण मस्यौदा निर्माणमा समेत उनको भूमिका रहेको बताइन्छ। यही अनुभवका कारण पेशागत क्षेत्रको विज्ञता र पार्टीभित्रको सांगठनिक अनुभवलाई एउटै प्रतिनिधित्वमा जोड्ने प्रयासका रूपमा खनालको नामलाई हेरिएको छ।

तनहुँ–२ बाट पेशागत विषय विज्ञतर्फ खनालको चर्चा बढेसँगै महाधिवेशन प्रतिनिधि चयनको बहस पनि केवल गुटीय समीकरण र संख्याको खेलमा सीमित नराखी नीति, विचार, कानुन र संगठन निर्माणको क्षमतासँग जोडिन थालेको छ। खनाल निर्वाचित भए कांग्रेसको नीति, विचार र लोकतान्त्रिक अभ्यासलाई समयअनुकूल सुदृढ बनाउँदै स्थानीय तहका कार्यकर्ता तथा जनताका आवाजलाई केन्द्रीय मञ्चसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button