प्रहार समाचार । तनहुँ, १० असोज २०८३ शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १, तनहुँबाट प्रजातन्त्र सेनानी संघको तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा पुण्य प्रसाद सुवेदीले उम्मेदवारी अघि सारेका छन्।

लामो राजनीतिक यात्रा, समाजसेवा, अग्रज नेताहरूसँगको संगत र निरन्तर संघर्षबाट खारिएको अनुभवलाई पार्टी संगठनमा उपयोग गर्ने दाबी गर्दै सुवेदीले आफूलाई पदको आकांक्षीभन्दा बढी संघर्ष र संगठनको आवाज बोकेको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्। लोकतन्त्र, समाजवाद र राष्ट्रियतालाई राजनीतिक आधार बनाएका सुवेदीले कांग्रेसभित्र अग्रजको सम्मान, कार्यकर्ताको एकता, समावेशी नेतृत्व र सुदृढ संगठनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टी संगठनलाई जनतासँग अझ नजिक जोड्दै कार्यकर्ताको भावना र जनअपेक्षालाई नेतृत्व तहसम्म पुर्याउने उनको भनाइ छ।

लामो राजनीतिक संघर्षको अनुभवलाई संगठन निर्माणमा प्रयोग गर्ने दाबी गर्दै उनले पार्टीभित्र विचार, योगदान र सक्रियतालाई उचित स्थान दिनुपर्नेमा जोड दिएका छन्।नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउन आह्वान गर्दै सुवेदीले क्षेत्रीय प्रतिनिधिहरूसँग मत, सहयोग र सद्भावका लागि अपिल गरेका छन्। महाधिवेशनले पार्टीको आगामी दिशा र नेतृत्व चयन गर्ने भएकाले संगठनलाई थप सुदृढ र जनतामुखी बनाउने अभियानमा आफूलाई सहभागी गराउन उनले आग्रह गरेका हुन्। “सबै अट्ने, देश जोड्ने कांग्रेस निर्माणका लागि” भन्दै सुवेदीले हार्दिक अपिलसहित जय नेपालको सन्देश दिएका छन्।





















