प्रहार समाचार । तनहुँ, १० असोज २०८३ शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १, तनहुँबाट द्वन्द्वपीडित क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि पदमा सतिशचन्द्र न्यौपानेले उम्मेदवारी अघि सारेका छन्।

व्यास नगरपालिका–७ पाथ्राका न्यौपानेले २०३५ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएको, सशस्त्र द्वन्द्वका क्रममा अपहरणमा परेको तथा व्यास–७ को वडा नेतृत्व सम्हालेको आफ्नो राजनीतिक पृष्ठभूमिलाई उम्मेदवारीको मुख्य आधार बनाएका छन्। लामो राजनीतिक यात्रा, दुःख–हण्डर र संघर्षबाट खारिएको अनुभवलाई पार्टी संगठनमा प्रयोग गर्ने दाबी गर्दै उनले आफूलाई पदभन्दा बढी संघर्ष र संगठनको आवाज बोकेको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।न्यौपाने हाल नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिका सदस्य रहेको तथा विगतमा व्यास–७ को वडा अध्यक्षका रूपमा स्थानीय तहको नेतृत्व गरिसकेको बताइएको छ।
विभिन्न सामाजिक संघसंस्था र स्थानीय तहमा नेतृत्वको अनुभवसमेत रहेको उल्लेख गर्दै उनले क्षेत्रीय प्रतिनिधिको विश्वासलाई संगठन निर्माणको मुख्य आधार बनाउने बताएका छन्। लोकतन्त्र, समाजवाद, राष्ट्रियता, समावेशी नेतृत्व र सुदृढ संगठनलाई आफ्नो राजनीतिक आधारका रूपमा अघि सारेका न्यौपानेले पार्टीभित्र कार्यकर्ताको सम्मान, एकता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको उम्मेदवारीले लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहेका र द्वन्द्वको प्रत्यक्ष पीडा भोगेका कार्यकर्ताको प्रतिनिधित्वको प्रश्नलाई पनि महाधिवेशनको बहसमा ल्याएको छ।
‘पुस्तान्तरण, रुपान्तरणसहित परिवर्तनलाई संस्थागत गर्दै विजय यात्रामा तपाईहरूसँग सधैं सँगै रहनेछु’ भन्ने प्रतिबद्धतासहित मैदानमा उत्रिएका न्यौपानेले क्षेत्रीय प्रतिनिधिहरूसँग मत, सहयोग र सद्भावको अपेक्षा गरेका छन्। नेपाली कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ भने १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।

यस्तो अवस्थामा न्यौपानेको उम्मेदवारी केवल एउटा व्यक्तिगत दाबीमा सीमित नरही द्वन्द्वपीडितको प्रतिनिधित्व, पुस्तान्तरण, संगठन सुदृढीकरण र कांग्रेसभित्रको रुपान्तरणको मुद्दालाई क्षेत्रीय अधिवेशनको बहसमा स्थापित गर्ने प्रयासका रूपमा अघि बढेको देखिन्छ ।





















