प्रहार समाचार । तनहुँ, १० असोज २०८३ शनिबार । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नं. २ बाट खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिका लागि सूर्यभक्त भण्डारीले उम्मेदवारी अघि सारेका छन्। व्यास नगरपालिका–६ अम्रेनी निवासी भण्डारीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पदाकांक्षाभन्दा संगठन सुदृढीकरण, समावेशी नेतृत्व र स्थानीय कार्यकर्ताको आवाजलाई पार्टीको नीति–निर्माण तहसम्म पुर्याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमिति सदस्य तथा व्यास–६ का निर्वर्तमान वडा अध्यक्षसमेत रहेका भण्डारीले क्षेत्रीय प्रतिनिधिको विश्वासलाई संगठन निर्माणको मुख्य आधार बनाउने बताएका छन्। स्थानीय तहमा नेतृत्वको अनुभव बोकेका भण्डारीले कांग्रेसको नीति, विचार र कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई थप गतिशील बनाउने प्रतिबद्धता जनाएका छन्। ‘लोकतन्त्र, समाजवाद, समावेशी नेतृत्व, सुदृढ संगठन र जनताको आवाज’लाई आफ्नो राजनीतिक आधारका रूपमा अघि सारेका उनले पार्टीभित्रको एकता, कार्यकर्ताको सम्मान र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनले एकतामा बल, सेवामा समर्पण र समृद्ध तनहुँ’को भावनासहित आफूलाई मतदान गरेर विजयी गराउन क्षेत्रीय प्रतिनिधिसमक्ष अपिल गरेका छन्। नेपाली कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ भने १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म हुने तय भएको छ।
यही सांगठनिक प्रक्रियाबीच भण्डारीले महाधिवेशन प्रतिनिधिका रूपमा स्थानीय तहका कार्यकर्ताको आवाज, संगठनको आवश्यकतालाई केन्द्रमा राख्दै पार्टीलाई समयअनुकूल थप बलियो बनाउने भूमिका निर्वाह गर्ने प्रतिबद्धता अघि सारेका छन्। कांग्रेसले १५औँ महाधिवेशनका लागि तय गरेको मूल नारासँगै संगठनभित्र नयाँ ऊर्जा र जिम्मेवारीको बहस चलिरहेका बेला क्षेत्र नं. २ मा भण्डारीको उम्मेदवारी पनि त्यसै सांगठनिक प्रतिस्पर्धाको हिस्सा बनेको छ।





















