व्याससमाचारगण्डकीस्वास्थ्य

विपन्न नागरिकको स्वास्थ्य उपचारमा व्यास – के एम सी सहकार्य: बिपन्न नागरिकले निशुल्क उपचार पाउने

प्रहार समाचार । तनहुँ, १० असोज २०८३ शनिबार । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका विपन्न नागरिकलाई लक्षित गर्दै व्यास नगरपालिकाले काठमाडौं मेडिकल कलेज (केएमसी)सँग स्वास्थ्य उपचारसम्बन्धी सहकार्य गरेको छ।

नगरपालिकाका विपन्न वर्गका १ सय ७५ जना नागरिकले एक वर्षसम्म केएमसीमा निःशुल्क स्वास्थ्य उपचारको सुविधा पाउने गरी सम्झौता गरिएको हो। सम्झौताअनुसार काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको भक्तपुर दुवाकोटस्थित अस्पतालमा व्यास नगरपालिकाका बासिन्दाले अस्पतालका उपलब्ध सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन्। त्यस्तै, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। सम्झौता एक वर्षका लागि लागू हुनेछ भने प्रभावकारिता र आवश्यकताका आधारमा दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

व्यास नगरपालिकाका तर्फबाट नगर प्रमुख वैकुण्ठ न्यौपाने र काठमाडौं मेडिकल कलेजका तर्फबाट प्रशासकीय प्रबन्धक अर्चना थापा तथा जनसम्पर्क प्रमुख सुधा कट्टेल जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई महँगो उपचारको बोझबाट राहत दिने अपेक्षा गरिएको छ। सम्झौताअनुसार उपचारमा सहुलियत लिन आउने नगरवासीले आफ्नो ठेगाना खुल्ने परिचयपत्र र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

१६ वर्षमुनिका बालबालिकाको हकमा जन्मदर्ताको प्रतिलिपि आवश्यक पर्नेछ। नेपाल सरकारबाट उपलब्ध स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक, ज्येष्ठ नागरिक, औषधि उपचार कोषलगायतका सुविधा भने पहिले उपयोग गरेपछि मात्र सम्झौताअनुसारको छुट लागू हुने व्यवस्था छ।सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध कर्मचारीका लागि केएमसीले छुट्टै काउन्टरको व्यवस्था गरी प्राथमिकताका आधारमा उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्झौताअन्तर्गत दुवै पक्षले प्रत्येक ६ महिनामा कार्यान्वयनको समीक्षा गरी आवश्यकता र प्रभावकारिताका आधारमा थप व्यवस्था वा संशोधन गर्न सक्नेछन्। व्यास नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको यो सहकार्यलाई विपन्न नागरिकको उपचार पहुँच विस्तार गर्ने प्रयासका रूपमा लिएको छ। आर्थिक अभावकै कारण विशेषज्ञ उपचारबाट टाढा रहनुपर्ने नगरवासीका लागि केएमसीसँगको सम्झौता उपचार खर्च घटाउने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button