हेडलाईनसमाचारगण्डकीशुक्लागण्डकीस्वास्थ्य

तनहुँको शुक्ला गण्डकीमा ‘एन्डोस्कोपी सेवा’ सुरु : ग्रामीण भेगमै अब आधुनिक उपचार सुविधा

प्रहार समाचार । तनहुँ, १६ भदौ २०८२ सोमवार । तनहुँको शुक्ला गण्डकी नगरपालिका–५ मा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पहिलोपटक एन्डोस्कोपी मेसिन जडान गरी सफल परीक्षण गरिएको छ। यो सेवा सुरु भएसँगै अब यस क्षेत्रका बासिन्दालाई पेट तथा पाचन प्रणालीसम्बन्धी जटिल समस्या पहिचान गर्नका लागि पोखरा वा काठमाडौंसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा, मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागबाट प्राप्त मेसिन आज परीक्षण गरिएको हो। परीक्षण कार्य मणिपाल अस्पतालका ग्यास्ट्रोएन्टरोलोजिस्ट डा. शंकर बराल र श्वासप्रश्वास केन्द्रका जनरल सर्जन डा. सबिन कुमार घिमिरेको टोलीले संयुक्तरूपमा एक जना बिरामीको सफल एन्डोस्कोपी गरी सेवा सुरु गरेका हुन्।

नियमित सेवा सुरु हुने :
परीक्षण सफल भएसँगै अब केन्द्रमा नियमित एन्डोस्कोपी सेवा सञ्चालन गरिने भएको छ। श्वासप्रश्वास तथा पाचन प्रणालीसँग सम्बन्धित रोगहरुको समयमै निदान तथा उपचारमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थप सेवा विस्तारको तयारी :
केन्द्रले केही दिनभित्रै सुरक्षित गर्भपतन तथा परिवार नियोजनसम्बन्धी सेवाहरू सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ। सेवाग्राहीको मागलाई मध्यनजर गर्दै भविष्यमा थप स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता पनि केन्द्रले जनाएको छ।

डिजिटल पूर्वाधारको सुरुआत :
यसअघि मन्त्री पौडेलले गत भदौ १० गते सोही केन्द्रमा इलेक्ट्रोनिक मेडिकल रिपोर्टिङ (EMR) प्रणालीको उद्घाटन गर्दै स्वास्थ्य सेवा प्रणालीलाई थप आधुनिक र सुलभ बनाउने दृष्टिकोणबाट डिजिटल पूर्वाधारको सुरुआत गरेका थिए।

स्थानीयस्तरमै विशेषज्ञ सेवा :
केन्द्रका सदस्य त्रिलोचन लम्सालका अनुसार अब श्वासप्रश्वास, पाचन प्रणाली, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा गाउँमै उपलब्ध हुनेछन्, जसले ग्रामीण जनताको स्वास्थ्य पहुँचलाई सहज बनाउनेछ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button