हेडलाईनसमाचारप्रदेशस्वास्थ्य

आज विश्व जनसंख्या दिवस : स्वास्थ्य मन्त्री पौडेलको सन्देश

प्रहार समाचार । काठमाडौँ, २७ असार २०८२ शुक्रवार । आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैछ । यसै अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले नेपालमा जनसंख्याको सन्तुलित व्यवस्थापनमा जोड दिएका छन् ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट आज एक शुभकामना सन्देश जारी गर्दै यस वर्षको नारालाई “Empowering young people to create the families they want in a fair and hopeful world” स्मरण गराएका छन्।

सन्देशमा जनसंख्या वृद्धिदरमा आएको कमी, प्रजनन दर घट्दो क्रममा रहेको, आन्तरिक तथा बाह्य बसाइँसराइको प्रभाव, र युवाले जनसांख्यिकीय लाभांश उपभोग गर्न नसकेको अवस्थालाई प्रमुख चुनौतीको रूपमा उल्लेख गरिएको छ। मन्त्री पौडेलले जनसंख्या वितरणमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै वर्तमान जनसंख्याको संरचना, वितरण र अवस्था अनुरूप प्रभावकारी कार्यक्रम सञ्चालनको आवश्यकता औँल्याएका छन्।

उनले ज्येष्ठ नागरिकको संख्या बढ्दो क्रममा रहेकाले उनीहरूको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता सञ्जालमार्फत अगाडि बढाउनु पर्नेमा जोड दिएका छन्। साथै, युवाले आफ्नो इच्छा अनुसारको परिवार निर्माण गर्न सक्ने वातावरण तयार पार्नुपर्नेमा जोड दिँदै जनसंख्याको समुचित व्यवस्थापनलाई समयको आवश्यकता भएको बताएका छन्।

हालै सरकारले स्वीकृत गरेको राष्ट्रिय जनसंख्या नीति, २०८२ को कार्यान्वयनमार्फत जनसांख्यिकीय चुनौतीको समाधान खोजिने विश्वास व्यक्त गर्दै मन्त्री पौडेलले तीनै तहका सरकारलाई उक्त नीतिलाई मार्गदर्शकका रूपमा लिएर कार्यान्वयनमा लैजान आग्रह गरेका छन्।

सन्देशको अन्त्यमा मन्त्री पौडेलले विश्व जनसंख्या दिवसको सन्देशलाई व्यवहारमा उतार्न सबै सरोकारवाला पक्षको साझा प्रयास र समन्वय आवश्यक रहेको उल्लेख गर्दै नेपाली जनसंख्याको उच्चतम सदुपयोग तथा युवाको सपना साकार पार्ने अभियानमा ऐक्यबद्ध हुन आह्वान गरेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button