प्रहार समाचार । काठमाडौं, ८ असार २०८२ आइतवार । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ । आइतबार देशका पहाडी क्षेत्रका धेरै स्थान र बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ । वर्षाका कारण नदी तथा खोला नाला लगायत जलस्रोतहरूको बहावमा वृद्धि, पहिरो, भूक्षय, र बाढीको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, जल तथा मौसम सम्बन्धी जोखिमका कारण जनस्वास्थ्य, कृषि, यातायात, र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नसमेत महाशाखाले सुझाव दिएको छ ।
आज दिउँसो र राति दुवै समयमा देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी प्रदेश तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ भने राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहितको हल्कादेखि मध्यम वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसहितको वर्षा हुन सक्ने भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।


















