• विजय अधिकारी । ( संवाददाता ) लमजुङ , २० मंसिर २०८१ बिहीवार । लमजुङको दोर्दी गाउँपालिकामा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले ३३औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस हिंजो मनाएको छ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने मुल नाराका साथ एक औपचारिक कार्यक्रमको आयोजना गरी अपाङ्गता दिवस मनाइएको हो ।

कार्यक्रम सामाजिक विकास संयोजक अम्बिका मरहठाको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष विच्छ बहादुर घलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन गर्दै पालिका उपाध्यक्ष गुरुङले अपाङ्गता भएका ब्यक्तिहरुलाई जो कसैले पनि हेला गर्न नहुने बताउदै उहाँहरुलाइ पालिकाले सहयोग गर्दै आएको र अझ सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा पालिका भित्र अपाङ्गता भएका विरामीहरुको हेरचाह गर्ने संरक्षकहरु मध्ये बाट सबैभन्दा राम्रो हेरचाह गर्ने संरक्षकलाई आर्थिक सहयोग तथा सम्मान गरिएको दोर्दी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत ताराचन्द्र ढकालले बताए ।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं लेखा अधिकृत ताराचन्द्र ढकाल,अपाङ्ग समन्वय समितिका सदस्यहरु,दोर्दी अपाङ्ग सञ्जालका पदाधिकारीहरु, अपाङ्गता भएका व्यक्तिहरुका संरक्षक लगायतको उपस्थिति रहेको थियो ।

























